arrow

ज्येष्ठ नागरिक दिवस मनाइँदै, १७ लाखले पाउँछन् वृद्धभत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
senoir-citizen.jpg

काठमाडौँ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकहरूको हक–हितको संरक्षण, उनीहरूको अनुभवको सम्मान र समाजमा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सरकार र विभिन्न सामाजिक संस्थाहरूले यो दिवस मनाएका हुन्।

पुस ११ को ऐतिहासिक महत्त्व नेपालमा वि.सं. २०५१ पुस ११ गतेदेखि सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणको सुरुवात गरिएको थियो। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकारले पहिलोपटक ज्येष्ठ नागरिकलाई मासिक १०० रुपैयाँ भत्ता दिने घोषणा गरेको सोही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको हो।

भत्ता १०० बाट ४ हजार पुग्यो तीन दशकअघि १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल मासिक ४,००० रुपैयाँ पुगेको छ। सरकारी तथ्याङ्कअनुसार हाल देशभरका करिब १७ लाख ज्येष्ठ नागरिकहरूले यो सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्। यसले विशेषगरी ग्रामीण क्षेत्रका र आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा ठुलो सहयोग पुर्‍याएको छ।

संवैधानिक र कानुनी अधिकार नेपालको संविधान र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार प्रत्याभूत गरेको छ। स्वास्थ्य सेवामा सहुलियत, सार्वजनिक यातायातमा सिट आरक्षण र सम्मानजनक जीवनयापनको अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।

दिवसका अवसरमा जारी सन्देशहरूमा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणको अमूल्य सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिइएको छ। परिवार र समाजमा उनीहरू एक्लो महसुस नहुन् भन्नका लागि सामूहिक दायित्व र कर्तव्यको बोध गराउनु यो दिवसको मुख्य मर्म रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ