डिशहोम बाह्रखरी कथामा ‘एक मान्ठ एक देउता’ पहिलो, प्रधानमन्त्री कार्कीबाट लिए शाहीले दुई लाख [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
696
Shares
काठमाडौँ । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा पहिलो भएको छ । पहिलो स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाले बिहीबार काठमाडौंमा विशेष कार्यक्रम गरी विजेता छानेको हो । प्रधानमन्त्री सुशीला कार्कीले शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन् ।
प्रतियोगितामा ऋतेश गुरुङको ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा दोस्रो भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो ।
इन्द्रप्रसाद गोतामे (जगतजंग)को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तेस्रो भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।
तीन कथाका कथाकारलाई प्रधानमन्त्री कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले सम्मान गरेका हुन् ।
समारोहमा प्रधानमन्त्री कार्कीले ‘१२खरी उत्कृष्ट कथा, २०८२’ कथाकृतिको लोकार्पण पनि गरिन् । कथाकृतिमा उत्कृष्ट २५ कथा समावेश गरिएको छ ।
विगत सात वर्षदेखि निरन्तर रहेको यस प्रतियोगिताका विजेता कथाकारलाई यसपालिदेखि पुरस्कार राशि वृद्धि गरिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
यस वर्षको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न १० भन्दा बढी मुलुकबाट गरी एक हजार १६८ कथा प्राप्त भएका थिए ।
ती कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५९ कथा प्रारम्भिक चयन गर्दै बाह्य निर्णायक समूहलाई हस्तान्तरण गरेको थियो । आन्तरिक निर्णायक समूहका संयोजक तथा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीले विभिन्न मुलुकबाट प्राप्त कथाले नेपाली समाज, सामाजिक विकासलाई फरक–फरक दृष्टिकोणले हेरेको पाइएको बताए ।
आन्तरिक निर्णायक समूहले छानेका ५९ कथामध्येबाट साहित्यकार अशेष मल्लको नेतृत्वमा रहेको बाह्य निर्णायक समूहले २५ कथासहित पहिलो, दोस्रो र तेस्रो कथा छनोट गरेको थियो । कथाकारहरू मञ्जु काँचुली र अभय श्रेष्ठ बाह्य निर्णायक समूहका विशिष्ट सदस्य रहेका थिए ।
उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, इन्द्रप्रसाद गोतामे (जगतजंग), उमा शर्मा, उमेश श्रेष्ठ, ऋतेश गुरुङ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्तबायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।
उत्कृष्ट कथाकारहरूलाई प्रमुख अतिथि प्रधानमन्त्री कार्कीसहित विशिष्ट अतिथि कथाकार उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रधान, प्रबन्ध निर्देशक आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष ढकाललगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले आफ्नो साहित्यिक र पठन यात्राबारे चर्चा गरेकी थिइन् । त्यस्तै लेखक सम्राट उपाध्यायले साहित्य र आफ्नो अमेरिकामा साहित्यिक यात्राबारे चर्चा गरेका थिए ।