arrow

प्रधानमन्त्री बन्ने सपना: बालेन-कुलमान तयार छन् रविको ‘विगतको बोझ’ बोक्न ?

logo
बाबु नेपाली, 
प्रकाशित २०८२ पुष १० बिहिबार
balen-rabi-kulman-10-09.jpg

काठमाडौँ । जेन-जी आन्दोलनमा निर्णायक भूमिका निभाएका काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनलाई प्रधानमन्त्री हुन हालै सहकारी ठगीमा धरौटी रकम बुझाएर कारागारबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साथ चाहिने नै हो भन्ने विषय अहिले छलफलको चरणमा प्रवेश गरेको छ ।

बालेन र  रविको भेटले नेपाली मिडिया र सामाजिक संजालमा एउटा तरङ्ग नै ल्याएको छ । धेरैले यसलाई सकारात्मक शुरूआतका रूपमा हेरेका छन् भने केहीले शंकाको सुविधा दिइरहेका छन् । 

रविको विगतको बोझबारे भने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । राजनीतिमा रहेका र राजनीतिलाई नजिकबाट नियालिरहेकाहरू नयाँहरू मिल्नुपर्ने धारणा सार्वजनिक गरिरहँदा रविको ‘विगतको बोझ’ बारे भने प्रष्ट हुन सकेका छैनन् । 

रविको विगत विवादित छ । उनको व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवन विवादले नै भरिएको छ । उनको अमेरिका बसाईका कुरा हुन् वा अमेरिकी नागरिक रहँदा नेपाली नागरिकता र पासपोर्ट प्रयोग गरेको कुरा होस् । पछिल्लो समय ग्यालेक्सी टिभीमा सहकारीको पैसा अपचलनको मुद्धा होस् । 

बालेन र रविको भेटको तरङ्ग
रवि र बालेनको भेटघाटले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । उक्त भेटघाटलाई विभिन्न कोणहरूबाट हेरिराखिएको छ । जेन-जी आन्दोलन लगत्तै बालेनले सरकारको नेतृत्व गरुन् भन्ने जमात ठूलो रहेको थियो ।

विशेषगरि जेन-जीहरूको पहिलो प्राथमिकता बालेन प्रधानमन्त्री बनुन् र देशलाई निकास देउन् भन्ने थियो । उक्त चाहना पूरा नहुँदा बालेनसँग जेन-जीहरू खुशी थिएनन् । 

उता रवि भने गत भदौ २४ गते आन्दोलनको मौका छोपी नख्खु कारागारबाट आफ्ना पार्टीका नेता कार्यकर्ताको सहयोगमा भागेका थिए । भाग्दा गृहसचिवले औपचारिक कागज दिएरै सुरक्षाका लागि निस्किएको भनेर भनेर गृहसचिवको कागज नै देखाइएको थियो । फगत त्यो पत्र नै नक्कली बनाइएको रहेछ ।

पछि भागेको कुरोलाई सुरक्षाको कारण देखाई निस्किनु परेको भनेर तर्क गर्नु परेको थियो । यद्यपि सुरक्षाको कारण भनिए पनि उनी जसरी गाडीबाट अभिवादन गर्दै निस्किए उनमा विजय भाव देखिन्थ्यो । सुरक्षाको कारण हो भने खुसुक्क निस्केर नजिकको सुरक्षित स्थानमा जाने विश्वव्यापी मान्यता हो । 

रविको बोझ बोक्ने कि नबोक्ने ?
बालेन र रविको मिलनबारे जति उत्साहित रविको पार्टी थियो त्यति उत्साही बालेनको टिम देखिएन । बालेनका नजिकका केही मित्रहरूलाई यहिबेला हो राजनीतिमा स्थापित भइहाल्ने लागेर बालेनलाई बैठकका लागि जोडबल गरेका थिए । उनीहरूलाई रविको बोझ आफ्ना नेताले बोक्न पर्ने कुराको हेक्का पनि देखिएन । बालेनसँग नजिक रहेर काम गरिरहेका एक जनाले सुनाए । 

रविको सहकारी र पासपोर्ट काण्ड मात्र होइन उनको बहुविवाहदेखि अमेरिकामा रहँदा रहेका काण्ड लगायतका थुप्रै विवादित विगतको बोझ बोक्न सायदै बालेन तयार हुन्छन् । त्यसैगरी अरु पनि तयार हुने छैनन् । 

रविको विवादित विगतमात्र होइन उनले आफैँले पुराना पार्टीहरूलाई ‘नो नट अगेन’ को नारा लगाएर रास्वपालाई २० सिट दिलाएपछि त्यही पुराना एमाले र माओवादीसँग बार्गेनिङ गरेर सरकारमा उपप्रधान तथा गृहमन्त्री खाए । जबकि जनताले दिएको म्याण्डेट सशक्त प्रतिपक्ष भएर रहनु थियो । 

जनताको म्याण्डेटलाई लत्याउँदै उनले दुई-दुई पटक पुष्पकलम दाहाल प्रचण्ड र केपी शर्मा ओलीको चाकरी गरेर उपप्रधान तथा गृहमन्त्री खाए । यस्ता कुराहरूले पनि उनको बोलीमा विश्वास गरिहाल्न सकिने स्थिति नरहेको बुझाइ रहेको छ ।

संसदीय राजनीति र सङ्ख्याको खेल 
रवि लामिछाने सबैलाई मिलाएर बालेन वा कुलमान घिसिङलाई प्रधानमन्त्रीको रूपमा उभ्याएर बहुमत ल्याउने योजनाका साथ अघि बढेका छन् ।

यसरी बहुमत आउने सम्भावना पनि रहला त्यो आफ्नो ठाउँमा छँदैछ । हुनत सरकार र संसद् सङ्ख्याको खेल हुने ठाउँ हो । नेपाली राजनीतिले पहिला पनि यो खेल धेरै पटक देखिसकेको छ ।

संख्याको खेलमा छिर्नुअघि आफ्नाको सङ्ख्या उल्लेख्य रहनु पर्ने खेलको नियम हो । अन्यथा आफू कुनै पनि बेला बाहिरिनुपर्ने सत्य लुकाउनु पर्दैन ।

त्यसैले बालेन वा कुलमान पर्म हुँदा आफूसँग आफ्नाको सङ्ख्या कति हुन्छ भनेर यकिन नगरी यो खेलमा नजालान् । राजनीतिमा भावनाले मात्र काम गर्दैन । कुलमान त अझ राजनीतिमा बामे सर्दैछन् ।

आफ्नो स्वार्थका लागि जुनसुकै हदसम्म जान सक्ने रविको चरित्र उनलाई चिन्नै धेरैलाई थाहा छ र राजनीतिमा आएपछि झन् छताछुल्ल भएको छ ।

यस्तो चरित्र देख्दादेख्दै चुनावमा जितका लागि वा प्रधानमन्त्रीका लागि सँगै जान्छन् भने चुनाव त जित्छन् तर प्रधानमन्त्री फेरि पनि ‘म्युजिकल चेयर’ को खेलमात्र हुनेछ । 

अदालतले गरेको निर्णयलाई सरकारले प्रतिशोध साँध्यो भनेर हिँडेको उनको पार्टीबाट प्रभावशाली दुई नेता बाहिरिएका छन् । सुमना श्रेष्ठ र सन्तोष परियार दुवै उक्त पार्टीमा राम्रो गरिरहेको र राम्रो स्थान पनि पाउने पक्का रहेको बेलामा किन पार्टी छाडे होलान् भनेर एक पटक त राजनीति जानेका मान्छेले सोच्छ नै । सुमनाले त स्पष्ट रूपमा एउटा मान्छेको देवत्वकरण मात्र रहेको बताएकी थिइन् । 

कुलमान अझ प्रष्ट 
बालेन र रविको भेटघाटपछि उत्साहित भएको सामाजिक सञ्जाल अब कुलमान घिसिङ पनि उनीहरूसँग मिल्नु पर्छ भनेर तयार भएर बसेको छ । त्यसो त कुलमान पनि रविको विगतको बोझ बोक्न तयार छैनन् । उनी पनि हिसाबकिताब गरेर बसेका छन् । 

रविसँग सँगै चुनावमा जाँदा सजिलो त हुन्छ तर राजनीति गाह्रो हुनेछ । रविको विगतको बोझ बोक्न पर्ने देखेपछि आफ्ना निकटस्थसँग उनी के गर्ने भनेर छलफलमा नै रहेको बताइएको छ । 

आफूले नगरेको अपराधको बोझ बोकेर कति हिँड्नुपर्ने यकिन नभएपछि कुलमान के गर्ने/नगर्ने अन्योलमा रहेका छन् । उनी निकट केही व्यक्तिहरू भने रविसँग मिल्नु पर्ने पक्षमा रहेका छन् ।

उनीहरूलाई राजनीतिमा स्थापित हुने मौका यही हो भन्ने लोभले लामो समयसम्म बोक्नु पर्ने रविको बोझ केही होइन भन्ने लागिरहेको छ। खुलेर अहिले देखिए पनि कुलमान राजनीति नजिकबाट देखेका र बुझेका हुनाले तत्कालै हाम फाल्ने पक्षमा छैनन् । उनी अझै आफ्ना विश्वासिला र नजिककासँग छलफलमा नै रहेका छन् । 

सुदन गुरुङ
जेन-जी आन्दोलनले मागेको प्रत्यक्ष कार्यकारीको माग पूरा नभए जेन-जी आन्दोलनबाट एक्कासी उदाएका सुदन गुरुङले चुनाव हुन नदिने बताइरहेका छन् । सुदन गरुङ अहिले नेपाली राजनीतिका एक प्रमुख पात्र हुन् । 

सुदन गुरुङले सबैलाई मिलाएर लैजाने बताइरहँदा बैठकहरू हुन थाल्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । के सुदन गुरुङ रविको ‘विगतको बोझ’ बोक्न तयार छन् । उनले पनि केही भारी त बोक्नै पर्ने हुन्छ । 

सुदन गुरुङलाई सुन्दा उनी प्रष्ट र इमानदार लाग्छन् । रविको विगतका बारेमा उनले थाहा पाएको दिन उनको प्रतिक्रिया के हुन्छ त्यो भने हेर्नै पर्ने हुन्छ । रवि कारागारबाट बाहिर निस्कना साथ खुशीको भाव व्यक्त गरे पनि उनी रविका बारेमा कत्तिको जानकार छन् त ? भन्ने प्रश्न अहम् हो । 

अन्योलमा रहेको नेपाली राजनीतिले चाँडै सकारात्मक निकास पाओस् भन्ने चाहना सबैको रहेको छ । निर्वाचनमात्र सहज रूपमा राजनीतिलाई सही बाटोमा लग्ने माध्यम हो । 

उक्त निर्वाचनमा को-कसरी अघि बढ्छ त्यो समयले बताउने छ । गलत गरिरहेको एउटालाई पछार्न अर्को गलत शक्तिसँग हात मिलाउनु झन् ठूलो अपराध हुन जान्छ । सकारात्मक शुरूआतको अपेक्षा नेपालीले गरेर बसेका छन् । सबैको सकारात्मक अपेक्षा पूरा होस् । शुभकामना !  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ