वीरगञ्ज नाकाबाट निर्यातमा ८९ प्रतिशतको उत्साहजनक वृद्धि
पाँच महिनामै बाहिरियो ४० अर्बको सामान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
654
Shares
काठमाडौँ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा हुने निर्यातमा उल्लेख्य सुधार आएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा कुल ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्य बराबरका नेपाली वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्।
यो तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँले बढी हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाकाबाट २१ अर्ब १८ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आर्थिक वर्षको पाँच महिनामा यस नाकाबाट हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए। निर्यात भएका वस्तुहरूमध्ये सबैभन्दा ठुलो हिस्सा प्रशोधित भटमासको तेलले ओगटेको छ।
तथ्याङ्क अनुसार २० अर्ब ७६ करोड रुपैयाँ मूल्य बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। यसैगरी ३ अर्ब ७ करोड रुपैयाँको फलफूलको जुस, २ अर्ब ८७ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल र १ अर्ब ९७ करोड रुपैयाँको प्रशोधित पाम तेल बाहिरिएको छ।
यसबाहेक १ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका कपडाहरू पनि यसै नाका भएर निर्यात भएको कार्यालयले जनाएको छ।