शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
765
Shares
काठमाडौँ । शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेजसमेत अड्काएर राखेको उनीहरुको आरोप छ ।
शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
मधेसी शहीद प्रतिष्ठानका सदस्यहरूले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारसम्म आफूहरूको माग सम्बोधनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्ने बताए ।
सरकारले शहीद परिवारलाई अपमान गर्नुका साथै मधेसी शहीद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरूलाई महसूस भएको उनीहरूको भनाइ छ ।
मधेसी शहीद प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरू प्रतिष्ठानमा आएको सात, आठ महिना भइसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे ।
गृह सञ्चार तथा कानून मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरूलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाबसमेत आइरहेको उनले आरोप लगाए।
मधेसी शहीद प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौँ बितिसक्दासमेत ऐन मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेकोसमेत बताए ।