सिमकोटमा थपियो बस काउन्टर, काठमाडौँसम्म नियमित सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
899
Shares
हुम्ला । कर्णालीको विकट जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि यातायात सेवा विस्तार हुने क्रमले तीव्रता पाएको छ। यसै सिलसिलामा आज मङ्गलवार सिमकोट गाउँपालिकाको कालीचोकमा बटालियन यातायात प्रालि र खार्पुनाथ यातायात प्रालिको संयुक्त बस काउन्टर सञ्चालनमा आएको छ। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशीला रोकायाले एक विशेष कार्यक्रमका बीच रिबन काटेर नयाँ काउन्टरको औपचारिक उद्घाटन गरेकी छन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रोकायाले बस सेवाको विस्तारले हुम्ली नागरिकलाई सुरक्षित, सुलभ र कम खर्चिलो यात्राको अवसर प्रदान गर्ने बताइन्। सडक यातायातको पहुँचले जिल्लाको आर्थिक, सामाजिक र शैक्षिक विकासमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै उनले हवाई यात्राको बाध्यता र महँगीबाट सर्वसाधारणले मुक्ति पाउने विश्वास व्यक्त गरिन्।
खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतका अनुसार बटालियन यातायातले भोलिदेखि नै हुम्लाबाट सुर्खेत र नेपालगञ्ज हुँदै राजधानी काठमाडौँसम्मको नियमित बस सेवा सुरु गर्ने तयारी पूरा गरेको छ। यात्रुहरूको चाप र सडकको अवस्थालाई मध्यनजर गर्दै सेवालाई गुणस्तरीय र भरपर्दो बनाइने प्रतिबद्धता उनले जनाए।
यसअघि पौष २ गते हिल्सा यातायात प्रालिले पनि जिल्लामा आफ्नो सेवा सुरु गरिसकेको छ। लामो समयदेखि महँगो हवाई टिकट र कठिन पैदल यात्रामा निर्भर हुनुपरेका हुम्लाबासीहरूले गाउँमै बस पुगेर नियमित सेवा सुरु हुनुलाई जिल्लाको इतिहासमा ऐतिहासिक परिवर्तनका रूपमा लिएका छन्। काउन्टरहरू थपिने र प्रतिस्पर्धा बढ्ने क्रमसँगै हुम्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य समेत घट्ने अपेक्षा गरिएको छ।