तराई–मधेसमा चिसोको कहर: बजार सुनसान, जनजीवन प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
773
Shares
काठमाडौँ। विगत एक सातादेखि देशभर बढेको चिसो र बाक्लो हुस्सुका कारण तराई–मधेस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बिहानैदेखि लाग्ने शीतलहर र चिसो हावाका कारण बजार क्षेत्रहरू सुनसान देखिएका छन् भने सर्वसाधारणको आवतजावतमा उल्लेख्य कमी आएको छ।
चिसोको सबैभन्दा बढी प्रभाव ग्रामीण भेगका किसानहरूमा परेको छ। बाक्लो शीत र चिसोका कारण किसानहरू बिहानै खेततर्फ जान नसक्दा कृषि गतिविधि प्रभावित भएको छ। चिसोले गाईवस्तु चराउन लैजान समेत समस्या भएपछि किसानहरूले आफ्ना चौपायालाई चिसोबाट बचाउन जुटको बोरा तथा पुराना कपडाहरू बाँधिदिने गरेका छन्।
बजार क्षेत्रमा चहलपहल घटेसँगै व्यापारिक कारोबारमा पनि मन्दी आएको छ। ठाउँ–ठाउँमा सर्वसाधारणहरू आगो तापेर बसेको देखिन्छ। चिसो अझै बढ्ने सङ्केत देखिएकाले स्थानीय प्रशासनले वृद्धवृद्धा र बालबालिकाहरूलाई विशेष सतर्कता अपनाउन र तातो खानेकुरा खान आग्रह गरेको छ।