नेकपाको चुनावी प्रतिबद्धता: घोषित मितिमै चुनाव गर्न सरकारलाई पूर्ण समर्थन [भिडियो]
शान्ति सुरक्षाका गुनासा सम्बोधन गरी सबै दललाई समेटौँ: वर्षमान पुन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
806
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो जानकारी दिएका हुन्।
छलफलका क्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारको प्रतिबद्धतामा आफूहरूको साथ रहने बताएका थिए। नेता पुनका अनुसार नेकपाले जनताको तहमा पुगेर राजनीतिक दलहरूसँग संवाद बढाउन र शान्तिपूर्ण रूपमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।
"हाम्रो पार्टीका लागि निर्वाचनमा सहभागी हुन कुनै समस्या छैन, तर अन्य केही राजनीतिक दलहरूले शान्ति–सुरक्षाका विषयमा गुनासो गरिरहेका छन्," नेता पुनले भने, "ती गुनासाहरूलाई सम्बोधन गरेर सबै दललाई चुनावी प्रक्रियामा समेट्ने वातावरण बनाउन हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ।"
सरकारको तर्फबाट वार्ता टोलीले विगतमा मुलुकमा राजनीतिक सङ्कट आउँदा दलहरूलाई एक ठाउँमा ल्याउन प्रचण्डले खेलेको भूमिकाको स्मरण गर्दै अहिले पनि दलहरूबीच समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेकपाले अन्य सबै राजनीतिक दलहरूसँग पनि आन्तरिक संवाद गरिरहेको पुनले जानकारी दिए।