संवैधानिक राजतन्त्रको वकालत गर्न सुझाव आउँछ तर अब ढिला भइसक्यो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै देशलाई एउटा अभिभावक (गार्जियन) को खाँचो रहेको औँल्याएका छन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा पुगेको र प्रजातन्त्र बिस्तारै ‘छाडातन्त्र’ मा परिणत हुँदै गएको भन्दै नेता कोइरालाले गम्भीर चिन्ता व्यक्त गरे। बीपी कोइराला र कृष्णप्रसाद भट्टराईले राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लैजानुपर्नेमा जोड दिएको स्मरण गर्दै उनले यी दुई कुरालाई सँगै लैजान नसके नेपालको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिए। उनले भने, “राजनीतिक स्थिरता अहिलेको प्राथमिक आवश्यकता हो, जसका लागि एउटा भरपर्दो अभिभावकीय भूमिका मुलुकले खोजिरहेको छ।”
पछिल्लो समय आफूलाई संवैधानिक राजतन्त्रको पक्षमा उभिन सुझावहरू आउने गरेको खुलासा गर्दै डा. कोइरालाले अब त्यसका लागि धेरै ढिला भइसकेको र आफू एक्लै लागेर मात्र केही नहुने बताए। उनले अहिलेको राजनीतिमा संस्कार र नैतिकता हराउँदै गएको र लोकरिझ्याँई (पपुलिज्म) ले मात्र प्राथमिकता पाउनु दुःखद भएको टिप्पणी गरे।
हालैको ‘जेन–जी’ आन्दोलनका विषयमा चर्चा गर्दै कोइरालाले बाहिर देखिएको अनुहार नेपाली भए पनि त्यसभित्रको वास्तविक रूप र शक्ति अरू नै कोही थियो कि भन्ने कुरा गम्भीरताका साथ बुझ्न जरुरी रहेको बताए। उनले राजनीति गर्ने व्यक्तिमा सिद्धान्त र निष्ठा हुनुपर्नेमा जोड दिँदै देश बचाउन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने धारणा राखे।