माग पूरा नभएसम्म चौबीसै घण्टा आन्दोलन गर्ने जेन-जीको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
852
Shares
काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले काठमाडौँको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन सोमबारदेखि उनीहरूले शान्तिपूर्ण आन्दोलन शुरू गरेका हुन् ।
सोही क्रममा आन्दोलनमा सहभागी डा.निकोलस भुषालले जेन-जीहरूले राखेको पाँच ओटा माग पूरा नभएसम्म २४ घण्टा आन्दोलनमा बस्ने बताए ।
उनले भने, ‘सम्पूर्ण जेन-जी बन्दीलाई आम माफी दिनुपर्छ, हत्यारालाई कारबाही गर्नुपर्छ, ०४६ साल यताका सम्पूर्ण नेता कर्मचारीको छानबिन गर्नुपर्छ, संविधान संशोधन गरेर प्रदेशसभा र राष्ट्रियसभा खारेज गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नहुदाँसम्म हाम्रो आन्दोलन जारी छ । यही खान्छौँ, यही सुत्छौँ २४ घण्टा यही नै बस्छौँ ।’
अहिलेको सरकार जेन-जीको होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार भएको पनि उनको दाबी छ ।
उनले भने, ‘यो जेनजीको सरकार होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार हो । सुशीला कार्की काङ्ग्रेस कोटाबाट, ओमप्रकाश अर्याल एमाले कोटाबाट अन्य एक, दुईजना अन्य पार्टीको कोटाबाट आएर सरकार बनेको छ । असली जेनजीहरू सबै आन्दोलनमा छन् । हाम्रो माग पूरा भएको छैन ।’