डिजेल, पेट्रोल र स्मार्टफोन आयातमा अर्बौँ बाहिरियो, सोयाबिन तेल निर्यातमा पहिलो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
665
Shares
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापार घाटा साढे ६ खर्ब पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको प्रतिवेदनअनुसार मुलुकले कुल ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको हो।
यो अवधिमा नेपालले कुल ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५.८३ प्रतिशतले बढ्दा निर्यातमा भने ५८.१७ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ।
छिमेकी मुलुकसँगको व्यापार स्थिति नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग मात्र ३ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ व्यापार घाटा छ। भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोडको आयात हुँदा ९५ अर्ब ४ करोडको निर्यात भएको छ। त्यस्तै, चीनसँगको व्यापार घाटा १ खर्ब ६३ अर्ब २६ करोड रुपैयाँ रहेको छ। चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोडको सामान भित्रिँदा नेपालबाट भने मात्र ४६ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
नाफा र मुख्य वस्तुहरू नेपालले केही देशहरूसँग भने व्यापार नाफा कमाएको छ। रोमानियासँग सबैभन्दा बढी ६ करोड ३४ लाख रुपैयाँ नाफा हुँदा स्वीडेन र इराकसँग पनि व्यापार सन्तुलन नेपालको पक्षमा देखिएको छ।
आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी छ। पाँच महिनामा ४५ अर्ब ६० करोडको डिजेल, २७ अर्ब ३३ करोडको पेट्रोल र २२ अर्ब ३९ करोडको खाना पकाउने ग्यास आयात भएको छ। साथै, १९ अर्ब १३ करोडको स्मार्टफोन र ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल भित्रिएको छ।
निर्याततर्फ प्रशोधित सोयाबिन तेल पहिलो स्थानमा छ। नेपालले ४६ अर्ब ५५ करोडको सोयाबिन तेल निर्यात गरेको छ। यसबाहेक ५ अर्ब ५३ करोडको ठूलो अलैँची, ४ अर्ब १३ करोडको कार्पेट र ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको विभागले जनाएको छ।