ट्रम्प र मदुरोबीच वाकयुद्ध: राजीनामा दिन ट्रम्पको चेतावनी, आफ्नै देश सम्हाल्न मदुरोको जवाफ
ट्रम्पको चेतावनी -मदुरोले राजीनामा दिनु नै 'बुद्धिमानी'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
1.8k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पदबाट राजीनामा दिन सुझाव दिँदै कडा चेतावनी दिएका छन्। अमेरिकी नौसेनाले भेनेजुएलाको तेल निर्यातमा नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पले मदुरोको राजीनामा नै 'बुद्धिमानी' निर्णय हुने बताएका हुन्।
१२ वर्षदेखि सत्तामा रहेका मदुरोलाई लक्षित गर्दै ट्रम्पले कडा अडान लिइराखे त्यो उनका लागि 'अन्तिम पटक' मात्र हुने चेतावनीपूर्ण प्रतिक्रिया दिए। यसको प्रतिउत्तरमा राष्ट्रपति मदुरोले ट्रम्पलाई अरूको देशमा हस्तक्षेप गर्नुभन्दा आफ्नै देशको आर्थिक र सामाजिक समस्यामा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्। अमेरिकाले आफ्नो आन्तरिक मामिला सम्हाल्न सके विश्व समुदायमा सकारात्मक सन्देश जाने मदुरोको तर्क छ।
यसैबीच, भेनेजुएलाको प्रमुख सहयोगी रुसले मदुरो सरकारप्रति आफ्नो 'पूर्ण समर्थन' दोहोर्याएको छ। युक्रेन युद्धमा व्यस्त भए पनि मस्कोले अमेरिकी समुद्री कारबाहीको कडा आलोचना गर्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय ढुवानीमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र भेनेजुएलाका विदेशमन्त्री इवान गिलबीच भएको फोन वार्तामा अमेरिकी 'शत्रुता' विरुद्ध एकसाथ उभिने सहमति भएको छ।
अमेरिकाले सेप्टेम्बरदेखि लागुऔषध तस्करी नियन्त्रणका नाममा क्यारेबियन र प्रशान्त क्षेत्रमा समुद्री जहाजहरूमाथि आक्रमण थालेको छ। यद्यपि, भेनेजुएला सरकारले ती कारबाहीमा १०० भन्दा बढी निर्दोष माझी र नागरिकहरूको मृत्यु भएको दाबी गरेको छ। राष्ट्रपति ट्रम्पले भेनेजुएलाले तेलको आम्दानी लागुऔषध आतङ्कवाद र मानव बेचबिखनमा प्रयोग गरेको आरोप लगाउँदै 'प्रतिबन्धित तेल जहाज' रोक्ने घोषणा गरेका छन्।
रुस र चीनले भेनेजुएलाको आग्रहमा यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रस्तावलाई समर्थन गरेका छन्। अर्कोतर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस युक्रेन युद्धमै अल्झिएकाले भेनेजुएलालाई मस्कोले दिएको समर्थनबाट वासिङ्टन चिन्तित नभएको टिप्पणी गरेका छन्। राष्ट्रपति मदुरोले भने अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल र ऊर्जा आपूर्तिमा गम्भीर सङ्कट निम्त्याउने भन्दै राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई चेतावनी दिएका छन्।