arrow

ओलीलक्षित प्रधानमन्त्री कार्कीको टिप्पणी: टुँडिखेलमा गोली हान्नु कानून होइन, सबै प्रक्रिया विधिअनुसार हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
sushila-09.jpg

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् । सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

बैठकमा प्रधानमन्त्री कार्कीले देशको विकास र उन्नति नै प्रमुख कुरा रहेको उल्लेख गर्दै रातारात सबै परिवर्तन सम्भव नहुने र सरकारले क्रमशः काम गरिरहेको स्पष्ट पारिन् । नेकपा एमालेका अध्यक्ष एवं जेन–जी आन्दोलन समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानूनी प्रक्रिया हुने बताएकी छन् । "मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने कुरा कानून होइन, हामी कानूनका ज्ञाता भएकाले विधिअनुसार नै अघि बढ्छौँ," उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएपछि भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य सुधार भएको दाबी गरिन् । उनले आफ्नो कार्यकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालय (सीआईबी) ले विगतमा कहिल्यै नभएका कामहरू गरिरहेको जानकारी दिइन् ।

सम्बोधनका क्रममा उनले थप भनिन्, "सधैँ राजनीतिक पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुपर्‍यो नि, विकास त हुनुपर्‍यो । त्यसैकारण एकै रातारात सबै कुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि कानून भनेको । हामी त कानूनका ज्ञाता मान्छेहरू हौँ, त्यसका पनि प्रक्रिया छन् । आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ, सिआइबीले काम गरेको गर्‍यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन, यो कुरा मनन गर्नुहोला ।"

प्रधानमन्त्री कार्कीले देशको हितका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा समेत जोड दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ