सरकारले फागुन २१ मा निर्वाचन गर्दैन भन्ने घोषणा भएको छ - बर्तौला
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
2.5k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद महेशकुमार बर्तौलाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन नगर्ने औपचारिक रुपमै घोषणा भएको बताएका छन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको सर्वपक्षीय बैठकमा आफू पनि सहभागी भएको भन्दै त्यहा सरकारले प्रस्तुत गरेको प्रस्तावले सरकारले फागुन २१ गते निर्वाचन हुँदैन भन्ने औपचारिक रुपमै घोषणा भएको ठोकुवा गरेका हुन् ।
उनले बैठकमा सहभागी भएर फर्केपछि सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रधानमन्त्रीले आज बोलाएको बैठकले नै संसद पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टि गरेको छ । निर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ । तर राजनितिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्रीज्यूले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वचान हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रुपमै घोषणा भएको छ । यसले मुलुकमा विद्यमान जटिल परिस्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानूनी आवश्यकता मात्रै होइन व्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यतासमेत सुदृद ढङ्गले पुष्टि भएको छ । खेल प्रारम्भ भएको ह्विसल बजिसकेपछि खेलाडीको अनुहार हेर्दै पाइलैपिच्छे सर्वस्वीकार्यता विपरीत नियमहरू अदलबदल हुन सक्दैन । त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागि होइन र हुन सक्दैन ।'