दुई सय स्थानमा चार सय १८ क्यामेरा जडान गर्दै भरतपुर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
716
Shares
चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम शुरू गरेको छ । महानगरका दुई सय भन्दा बढी स्थानमा क्यामेरा जडानको काम शुरू गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको सोमबार एक समारोहका बीच शुभारम्भ गरिन् ।
महानगरपालिका २९ वडाका मुख्य-मुख्य चोकमा क्यामेरा जडानको काम शुरू गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम शुरू गरिएको छ ।
महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका दुई सय भन्दा बढी स्थानमा चार सय १८ क्यामेरा जडान गर्न लागिएको छ ।
चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित चार सय १८ उच्च क्षमताका भीएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ । सीनजी आइटी सोलुसन प्रालिले पाँच करोड ५८ लाख २० हजार छ सय ४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ ।
महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामेरा जडानको काम शुरू गरिएको बताइन् ।
सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उनको भनाइ छ । उनले भनिन्, “सीसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना सहाकार भएको छ ।”
महानगरपालिकाले दुई सय छ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उनले बताइन् । ९१ ओटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ ।
यस्तै महानगरका छ ओटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उनले जानकारी दिइन् । ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।
सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने हरेक घटनालाई निगरानी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महानगरपालिकाले क्यामेरा जडान गरेको बताए । यो योजनाले जनता सुरक्षित भएको महसुस गर्ने उनको भनाइ छ ।
सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण गर्न आवश्यक रहेको बताए ।
नेपाल टेलिकमको फाइबरमार्फत सीसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो ।
नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाको दिनसमेत मर्मतको काम नरोकेर कामलाई अघि बढाइएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामेराको प्रभावकारी कार्यान्वयनको पक्षमा आफूहरू लाग्ने बताए । रासस