हिरासतमुक्त भएपछि रविको पहिलो बालुवाटार दौड: १८ वर्षमै चुनाव लड्न पाउने व्यवस्था गर्न रास्वपाको माग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
2.2k
Shares
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतबाट मुक्त भएको भोलिपल्टै आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतमसहित बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्री कार्कीसँग मुलुकको समसामयिक राजनीति र आगामी निर्वाचनबारे विस्तृत छलफल गरेका हुन्।
मुख्य एजेन्डा: चुनावी उमेर हद र 'जेन-जी' का माग भेटमा रास्वपाले संघीय निर्वाचनमा उम्मेदवारी दिने उमेर हद घटाउनुपर्ने माग अघि सारेको छ। हालको २५ वर्षको उमेर हदलाई घटाएर २१ वा १८ वर्षमै चुनाव लड्न पाउने व्यवस्था गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। नेता शिशिर खनालका अनुसार 'जेन-जी' आन्दोलनका क्रममा भएका सम्झौता कार्यान्वयन र युवाहरूलाई राजनीतिको मूलधारमा ल्याउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
राजनीतिक प्रतिशोध सच्याउन आग्रह भेटमा सभापति लामिछानेमाथि लगाइएका मुद्दा र विगतको सरकारले गरेको 'राजनीतिक प्रतिशोध' बारे पनि छलफल भएको छ। नेता सोविता गौतमले अदालती प्रक्रियामा हस्तक्षेप नगर्ने तर विगतको सरकारले बदनियतपूर्वक गरेको शक्तिको दुरुपयोगलाई वर्तमान सरकारले सच्याउनुपर्ने धारणा राखिन्। उनले हिजोको 'अधिक अभियोजन' आफैँमा भ्रष्टाचार भएको भन्दै त्यसलाई सच्याउन माग गरिन्।
निर्वाचनको सुनिश्चितता रास्वपा टोलीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने र सरकारको प्रमुख कार्यभार नै निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। प्रधानमन्त्री र लामिछानेबीच सुरुमा भएको 'वान-टु-वान' भेटलाई भने नेताहरूले लामो समयपछिको व्यक्तिगत र औपचारिक शिष्टाचार भेटका रूपमा अर्थ्याएका छन्।