arrow

डीआईजी थपलियाले मधेसमा खटाए नयाँ घुमुवा

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ पुष ६ आइतबार
govinda-thapaliya-dig.jpg

वीरगञ्ज । कार्य सम्पादन क्षमता कमजोर भएको भन्दै जनकपुरका तत्कालीन प्रहरी उपरीक्षक पदमा कार्यरत गोविन्द थपलियालाई हेडक्वार्टर झिकाइएको थियो। तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले कार्यक्षमतामा कमजोरी देखाउँदै थपलियालाई तानेका थिए ।

तिनै गोविन्द थपलिया अहिले जेनजी सरकारको पालामा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रूपमा कार्यरत छन्।

मधेस प्रदेशका आठ वटै जिल्लाबाट साविकका घुमुवा हटाएर नयाँ घुमुवा खटाइएको छ । डीआईजी थपलियाले को–कसलाई घुमुवाबाट हटाए, त्यसको सूची सार्वजनिक गरिएको छैन आठै जिल्लाबाट घुमुवा हटाइएको एक पक्षीय समाचार सम्प्रेषण गराइएको छ। 

मधेस प्रदेश प्रहरीका प्रवक्ताको भूमिकामा रहेका प्रहरी उपरीक्षक भेषराज रिजालसँग यस बारेमा बुझ्न खोज्दा उनले संगठनको नियमित प्रक्रिया भएकाले राम्रो काम गर्न नसक्नेलाई हटाएर त्यस्ताको ठाउँमा योग्य र क्षमतावान पठाइएको बताए । उनले क-कसलाई हटाइएको हो त्यसको सूची आफूसँग नभएको बताए । 

पहिला भएकालाई हटाउने र आफ्ना आसेपासेलाई राख्ने यो पुरानो परम्परा हो । त्यसलाई निरन्तरता दिँदै मधेस प्रदेशमा डीआईजी थपलियाले वीरगञ्जमा हालै पदस्थापन भएको संघीय प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई असुलीको जिम्मा दिएका छन् । 

यद्यपि यादव काबिल प्रहरीमध्ये गनिन्छन् । बारा जिल्लामा असई विजय महतो र प्रहरी जवान पवन महतोलाई खटाइएको स्रोत बताउँछ ।

रौतहट जिल्लामा असई विटु सिंह,प्रहरी हवल्दार राज गुप्ता र प्रहरी सहायक हवल्दार नवीन पाललाई खटाइएको छ । सर्लाही जिल्लामा प्रहरी हवल्दार शुभनारायण साह, प्रहरी जवान मजरुल होदा र प्रहरी जवानओकिल आलम तथा महोत्तरीमा सहायक हवल्दार धर्मेन्द्र यादव र प्रहरी जवान राकेश यादवलाई सादा पोशाकमा रकम संकलनको लागि खटाइएको उच्च स्रोतले बताएको छ। 

धनुषा जिल्लामा असई राजेश्वर यादव, अर्का असई रामेश्वर यादव भन्ने बच्चा यादव र प्रहरी जवान असलम शेखलाई खटाइएको छ। सिराहा जिल्लामा असई सञ्जय पासवान, प्रहरी हवल्दार प्रमोद यादव र प्रहरी सहायक हवल्दार अशोक साहलाई सादा पोशाकमा खटाइएको छ।

सप्तरीमा प्रहरी सहायक हवल्दारद्वय सुशील यादव र राजन अधिकारीले कमाण्ड सम्हालेका छन् ।

सधैँ मधेस प्रदेशमै बसेर तर मार्न पल्केका वरिष्ठ सई रोशन अधिकारी पनि चर्चामा छन् । उनको दरबन्दी जनकपुर प्रहरी गुल्ममा भए पनि सर्लाही जिल्लामा कार्यरत छन् । 

तस्करहरूसँग डिल गर्ने कलामा माहिर भएको कारण  मधेस प्रदेशका जो डीआईजी आए पनि उनलाई काखी च्याप्ने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ