भक्तपुरमा एक महिनामै १४ जघन्य अपराध: बैंकिङ कसुर र आर्थिक अपराधको ग्राफ उच्च
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
763
Shares
भक्तपुर | जिल्ला प्रहरी परिसर भक्तपुरले मङ्सिर महिनाको अपराध तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा १४ वटा जघन्य अपराधका घटना भएको जनाएको छ। परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेजुका अनुसार एक महिनाको अवधिमा १३२ वटा मुद्दा दर्ता भएका छन् भने विभिन्न अपराधमा संलग्न ३७ जना पक्राउ परेका छन्।
तथ्याङ्कअनुसार भक्तपुरमा बैंकिङ कसुरका घटनाहरू डरलाग्दो रूपमा बढिरहेका छन्। मङ्सिरमा मात्रै ७१ वटा आर्थिक अपराधका घटनामध्ये ६७ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। यसका साथै लागुऔषधका ८, जबर्जस्ती करणीका ४ र मानव बेचबिखनका २ वटा गम्भीर घटना भएको प्रहरीले जनाएको छ।
महिला र बालबालिकाको खोजीमा सफलता प्रहरीले हराएका ११ जना बालिकाहरूलाई फेला पार्न सफल भएको छ। यस्तै, हराएका ८ महिलामध्ये ६ जना र ७ पुरुषमध्ये ५ जना फेला परेका छन्। घरेलु हिंसातर्फ श्रीमान्-श्रीमतीको झगडाका २० उजुरीमध्ये ११ वटामा मिलापत्र गराइएको डीएसपी जवेजुले बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी परेका ४९ उजुरीमध्ये ३३ वटाको समाधान भएको र बाँकीको प्रक्रिया चलिरहेको छ।
फैसला कार्यान्वयन र कारबाही प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा ३७ जनालाई पक्राउ गरी ३८ लाख १३ हजार ८०० रुपैयाँ जरिवाना असुलेको छ। पक्राउ परेकाहरूलाई कुल ७ वर्ष ६ महिना १६ दिन कैद सजाय तोकिएको छ। कर्तव्य ज्यानका दुई वटा मुद्दामा पनि प्रहरीले सफल अनुसन्धान गरेको जनाएको छ।
डीएसपी जवेजुका अनुसार लागुऔषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरी विभिन्न प्रतिबन्धित औषधिहरू बरामद गरिएको छ। यसै महिना ५ जनाले आत्महत्या गरेको दुःखद तथ्याङ्क पनि प्रहरीले पुष्टि गरेको छ। प्रहरीले उजुरीहरूलाई छिटो छरितो ढंगले फछ्र्यौट गरिरहेको र जिल्लाको सुरक्षा अवस्थालाई मजबुत बनाउन सक्रिय रहेको बताएको छ।