वर्तमान सरकारले जेन-जीको नेतृत्व गर्न सक्दैन, सर्वपक्षीय सरकार नै विकल्प: मिराज ढुङ्गाना [भिडियो]
वर्तमान सरकारमाथि गम्भीर आरोप, नयाँ आन्दोलनको तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
878
Shares
काठमाडौँ| जेन–जी अभियन्ता मिराज ढुङ्गानाले वर्तमान सरकारले युवा पुस्ताको भावना र आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन्। 'संयुक्त जेन–जी आन्दोलन' घोषणा गर्दै उनले देशमा हाल देखिएका समस्याहरूको सही समाधान नभए नेपालको स्थिति पनि बङ्गलादेशको जस्तै अराजक हुने चेतावनी दिए।
ढुङ्गानाले जेन–जी आन्दोलन केवल निर्वाचनका लागि मात्र नभई व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणका लागि भएको स्पष्ट पारे। उनले भने, “अहिलेकै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउन सक्छ, त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठुलो उपलब्धि नठानोस्।” उनले सुरक्षा, न्याय र भरोसाको अभावमा राज्य भएको अनुभूति नै नभएको जिकिर गरे।
सरकारमाथि भ्रष्टाचार र नातावादको आरोप अभियन्ता ढुङ्गानाले सरकारले भ्रष्टाचारका फाइल खोल्न नसकेको र उल्टै नातावादमा फसेको आरोप लगाए। उनले प्रधानमन्त्रीले सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले आफ्ना काकालाई नियुक्ति दिन प्रहरीमा दरबन्दी थपेको र महान्यायाधिवक्ताले छोरीलाई उन्मुक्ति दिएको जस्ता गम्भीर आरोपहरू समेत लगाएका छन्। उनले प्रधानमन्त्रीको सचिवालय नातावाद र कृपावादमा चलेको दाबी गरे।
ढुङ्गानाले सोमबारदेखि माइतीघरबाट शान्तिपूर्ण आन्दोलन सुरु गर्ने जानकारी दिए। रोजगारी सिर्जना, शासकीय स्वरूपमा सुधार, विदेशमा रहेका नेपालीलाई मताधिकार र शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। सरकार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुको सट्टा विदेश पठाउन तल्लीन रहेको आरोप लगाउँदै उनले अबको आवश्यकता सबै पक्षलाई विश्वासमा लिन सक्ने 'सर्वपक्षीय सरकार' भएको बताए।