एम्बाप्पेले गरे रोनाल्डोको कीर्तिमानी बराबरी, जन्मदिनमा गोल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
779
Shares
काठमाडौँ । स्पेनिश ला लिगा क्लब रियाल मड्रिडका फरवार्ड फ्रेन्च खेलाडी किलियन एम्बाप्पेले ५९औँ गोल गर्दै एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्लब कीर्तिमानको बराबरी गरेका छन् ।
यो कीर्तिमान यसअघि उनकै आइडल खेलाडी पोर्चुगिच क्रिस्टियानो रोनाल्डोले सन् २०१३ मा बनाएका थिए । शनिबार सेभिया विरुद्धको खेलमा अन्तिम चार मिनेट बाँकी रहँदा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियाललाई २–० ले जिताउने क्रममा कीर्तिमानको बराबरी गरेका हुन् ।
आफ्नो २७औं जन्मदिनकै दिन एम्बाप्पेले रोनाल्डोको कीर्तिमान बराबरी गरेका हुन् । गोलपछि उनले टोलीका साथीहरूसँग खुशी साटे र रोनाल्डोको चर्चित गोल ‘सेलिब्रेसन’ ‘सु’ शैली देखाए ।
सन् २०२४ को समरमा जर्मन क्लब पेरिस सेन्ट–जर्मेनबाट रियाल पुगेका एम्बाप्पेले यस सिजन क्लबका लागि २९ गोल गरिसकेका छन् । यसमा ला लिगाका १८ गोल समावेश छन् ।
ला लिगाको अंक तालिका
ला लिगामा १७ खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहेको छ भने १८ खेलबाट ४२ अंकसहित रियाल मड्रिड दोस्रो स्थानमा छ ।
भिल्लारियल १५ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा हुँदा एथ्लेटिको मड्रिड १७ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । सेभिया १७ खेलबाट २० अंकसहित नवौँ स्थानमा छ ।