arrow

मधेसमा चिसोको कहर, जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
cold-tarai.jpg

रौतहट । मधेसका जिल्लामा दुई दिनदेखिको बाक्लो हुस्सु तथा शीतलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केही दिनको तुलनामा मधेसमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो ।

बिहीबारसम्म पारिलो घाम लागेको भए पनि दुई दिनदेखि हुस्सु तथा शीतलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए ।

उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शीत खसेको छ । शीतलहरसहितको चिसो बढेपछि स्थानीय आगो तापेर बस्न थालेको उनको भनाइ छ ।

चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसँग प्रभावित भएको उनले जानकारी दिए । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई चिसोले निकै सताउने देखिएको छ।

यो चिसोमा सडक नै सुनसान हुने र मानिसको चहलपहल कम हुँदा अपेक्षा अनुसार कमाइ नभएको रिक्सा मजदुर हरिराम यादवले बताए ।

यसअघि दैनिक करिब दुई हजार सम्म हुने गरे पनि अहिले पाँच सयसम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालदरी मजदुर कृष्ण महराको भनाइ छ ।

हरेक जाडोयाममा रौतहटसहित तराई मधेस क्षेत्रमा निकै दिनसम्म पनि शीतलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ ।

यो चिसोमा शीतलहरका कारण मानिससंगै पशु चौपाय र कृषि बालीमा पनि असर गरेको छ । चिसोका कारण सबभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।

चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बाक्लो हुस्सु तथा शीतलहरका कारण मधेसका जिल्लामा हवाई उडान प्रभावित भएको छ ।

सिमरा विमानस्थलका अनुसार शनिबार दिउँसो १ बजेदेखि मात्र हवाई उडान भएको हो । चिसोका कारण अस्पतालमा बिरामीको चाप देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ