सिरियामा आईएसविरुद्ध अमेरिकी सेनाको ठूलो सैन्य कारबाही
७० स्थानमा आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
1.6k
Shares
काठमाडौँ | अमेरिकी सेनाले मध्य सिरियामा इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित ७० भन्दा बढी लक्ष्यहरूमाथि ठुलो मात्रामा हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार यो कारबाही डिसेम्बर १३ मा पाल्मिरा क्षेत्रमा भएको हमलाको प्रतिशोधमा गरिएको हो। सो हमलामा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादक मारिएका थिए।
सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले यो अभियान आईएसलाई अमेरिकी मातृभूमिमा आतङ्कवादी षड्यन्त्र र आक्रमणहरू गर्नबाट रोक्नका लागि महत्वपूर्ण रहेको बताए। ‘अपरेशन हकआई स्ट्राइक’ नाम दिइएको यस अभियानमा जोर्डनका सशस्त्र बलका लडाकु विमानहरूले पनि साथ दिएका थिए।
आक्रमणमा अमेरिकी एफ–१५ र ए–१० लडाकु विमान, अपाचे हेलिकप्टर र आर्टिलरी प्रयोग गरी १०० भन्दा बढी आधुनिक हतियार प्रहार गरिएको छ। जसबाट आईएसका पूर्वाधार र हतियार भण्डारहरूमा ठुलो क्षति पुगेको सेन्टकमले जनाएको छ।
डिसेम्बर १३ को हमलाको अहिलेसम्म कुनै पनि समूहले औपचारिक जिम्मेवारी लिएको छैन। यद्यपि, सिरियाली आन्तरिक मन्त्रालयले हमलाकारीलाई सिरियाली सुरक्षा बलकै सदस्यका रूपमा पहिचान गरेको थियो, जो आईएस समर्थक विचारधाराबाट प्रेरित भएको आशङ्का गरिएको छ।