शहीद परिवारको आँसु पुछ्दै भने-"सुशासनका लागि सरकारलाई साथ दिन तयार छौँ"
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
722
Shares
काठमाडौं| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै 'जेन–जी' आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन्। शनिबार चितवनबाट काठमाडौं आएका लामिछने बबरमहलस्थित 'जेन–जी शहीद परिवार कल्याणकारी संस्था'को कार्यालय पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा लामिछानेले शहीद परिवारप्रति सम्वेदना व्यक्त गर्दै आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिए। उनले भने, "उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो त आमहत्या हो। शहीद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।"
लामिछानेले सरकारको भूमिकाप्रति टिप्पणी गर्दै देशमा सुशासन कायम गर्न आवश्यक परे सरकारलाई साथ दिन आफूहरू तयार रहेको समेत बताए। सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका उनी शुक्रबार मात्रै कारागारबाट रिहा भएका थिए। रिहा भएर चितवनबाट काठमाडौं ओर्लिएको केही बेरमै उनले आफ्नो राजनीतिक र सामाजिक सक्रियता बढाएका हुन्।