arrow

खरो उत्रे योगेश

एमाले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको योगेश भट्टराईको आरोप [भिडियो]

पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
yogesh-bhattrai-uml.jpg

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् ।

ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलमापछि उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संरचनाको दुरुपयोग गर्ने काम भएको बताए ।

यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाइ छ ।

उनले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए । उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताए ।

एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिए ।

उनले आगामी निर्वाचनलगायत बाह्य प्रतिस्पर्धामा भने एकजुट हुने बताए । विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उनको भनाइ छ ।

उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा हामी सामेल भयौँ । यद्यपि त्यो लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो ? त्यो सबैले देखेकै छ । प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भीर प्रश्नहरू उठाएको छ । पार्टी संरचनाको दुरुपयोग गरिएको छ । संगठन विभाग लगायतका निकायहरूको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोशिस भयो, त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ । जेसुकै भए पनि यसको समीक्षा आगामी दिनमा हुँदै जाला । पार्टीको केन्द्रीय कमिटिको बैठक छ, २६, २७ र २८ गते त्यहाँ पनि हामीले यसको समीक्षा गर्ने नै छौँ । तर एउटा लोकतान्त्रिक अभ्यासमा भाग लिइसकेको हुनाले यसको परिणामलाई हामीले सहज रुपमा स्वीकार्छौं । आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँले ल्याउने सकारात्मक प्रस्तावलाई हामीले सर्मथन गर्दछौँ । यदि पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रस्ताव आए भने हामी त्यसको प्रतिवाद गर्छौँ । र पार्टीलाई आगामी निर्वाचनलगायतका बाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न हामी हरदम पार्टीको पक्षमा खडा हुनेछौँ । पार्टीभित्र हामी कुनै अराजनीतिक बार्गेनिङ गर्दैनौँ । तर राजनीतिक मुद्दामा हामी सधैँ पार्टीभित्रको आन्तरिक संघर्षमा सामेल हुन्छौँ । यतिबेला विभाजन होइन र आत्मसमर्पण पनि होइन, निरन्तर संर्घष हाम्रो लाइन हुनेछ ।’

उनले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्दै सामूहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा भने उठाइरहने बताए ।

उनले पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिए । पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा पनि समीक्षा गर्ने भेलाले निर्णय गरेको उनले जानकारी दिए ।

निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकाहरूलाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ