ओलीले सहयोद्धाहरूमाथि प्रतिशोध साँधे, हामी कम्युनिष्ट एकताको नेतृत्व गर्छौँ: प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
805
Shares
काठमाडौँ | 'नेपाली कम्युनिष्ट पार्टी' (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशका सम्पूर्ण कम्युनिष्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने संकल्प लिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको 'एकता सन्देश सभा' लाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिष्ट घटकहरूको जगमा सुरु भएको यो एकता अभियानले ढिलोचाँडो सबै वामपन्थीलाई एकै ठाउँमा उभ्याउने दाबी गरे।
संयोजक दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै उनले आफ्नै पूर्वसहकर्मीहरूमाथि प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए। "एकातिर आफूलाई कम्युनिष्ट भन्नेहरूले नै छलकपट र जालझेल गरेर सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेका छन्," दाहालले भने, "अर्कोतिर हामी सहमति र सहकार्यको बाटोबाट समाजवादको यात्रा तय गर्न सबैलाई एकजुट बनाउने संकल्पका साथ मैदानमा आएका छौँ।" उनले यो एकता प्रक्रियामा आगामी दिनमा थप पार्टीहरू सहभागी हुँदै जाने विश्वास समेत व्यक्त गरे।
आफ्नो सम्बोधनका क्रममा प्रचण्डले नयाँ पुस्ता अर्थात् 'जेन–जी' (Gen Z) का माग र भावनालाई सम्बोधन गर्नु आफ्नो पार्टीको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। समाजवादतर्फको यात्राको नेतृत्व गर्न र जनताका सपना पूरा गर्न बृहत् कम्युनिष्ट एकताको विकल्प नरहेको उनको भनाइ थियो।