म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ ।
रघुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च)मा परीक्षण उत्पादन शुरू गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णताः दिन लागिएको जानकारी दिए ।
“सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ”, उनले भने, “२० मेगावाटको टर्वाइन जडान गरेर ड्राई टेस्टिङ गर्न तयार पारेका छौँ । मार्च महिनाभित्र परीक्षण उत्पादन शुरू गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ ।”
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।
सन २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ ।
रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ ।
कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।
भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौताको म्याद यही डिसेम्बर ३१ मा सकिदैछ । भेलले अधिकांश उपकरण आयात सकेर जडानको काम गरिरहेको छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारूपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो ।
पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न शुरू गरेको थियो ।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रीडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार ओटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ । रासस