एमाले झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन: ओली
साँचो कम्युनिष्ट बन्न कडा अनुशासन चाहिन्छ, एमालेमा मनलाग्दी चल्दैन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
2.3k
Shares
काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अराजक शक्ति नभएको बताएका छन्। शुक्रबार ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमाले साँचो र अनुशासित कम्युनिष्ट पार्टी भएको दाबी गरे।
अध्यक्ष ओलीले पार्टीका हरेक सदस्यलाई कडा अनुशासनमा रहेर काम गर्न निर्देशन दिँदै सामूहिक हित र राष्ट्रिय स्वार्थभन्दा माथि व्यक्तिगत स्वार्थ हुन नसक्ने बताए। "हाम्रो पार्टी लोकतान्त्रिक हो, हरेक व्यक्ति आफ्नो विचार राख्न स्वतन्त्र छ," उनले भने, "तर सामूहिक प्रयासबाट निकालिएका पार्टीका नीति र निर्णयविरुद्ध कसैलाई पनि मनलाग्दी गर्ने छुट छैन, त्यो अनुशासनहीनता हो।"
बैठकको मर्यादा र गम्भीरताबारे सचेत गराउँदै ओलीले बैठकमा मोबाइल चलाउने र बजाउने काम नगर्न समेत नेता-कार्यकर्तालाई कडा निर्देशन दिनुभयो। उनले राष्ट्रिय स्वार्थ र पार्टीको गरिमाविपरितका कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै एमालेलाई थप सुदृढ र अनुशासित बनाउनुपर्नेमा जोड दिए।