काठमाडौँ । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख बराबरको बीमा रकम भुक्तानी भएको छ ।
बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल सात सय ९० ओटा प्रारम्भिक बीमा दाबी परेको थियो ।
त्यसमा कुल चार अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ ओटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।
विभिन्न १३ ओटा निर्जीवन बीमा कम्पनी र दुईटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ चार सय १७ ओटा प्रारम्भिक दाबीमध्ये ३३ ओटाको भुक्तानी भएको छ ।
सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार सो दाबीमा नौ करोड ६४ लाख बराबरको भुक्तानी भएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय सात ओटा बीमा दाबीको करिब ५१ करोड ५७ लाखमध्ये कुल सातओटा दाबीको नौ लाख बीमितलाई भुक्तानी भएको छ ।
कृषि तथा बाली बीमातर्फ दुई सय १० ओटा बीमा दाबी परेको थियो । त्यसमा करिब चार करोड १४ लाख दाबी रकममध्ये कुल ४२ ओटा दाबीको १९ लाख भुक्तानी भएको छ ।
यस्तै, मोटर बीमा (निजी)तर्फ ४० ओटा बीमा दाबीको करिब दुई करोड ८२ लाख दाबी रकममध्ये कुल १२ ओटा दाबीको एक करोड २० लाख भुक्तानी भएको छ ।
सामुद्रिक बीमातर्फ चारओटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईटा दाबीको तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० ओटा दाबीको एक करोड १९ लाख र लघुबीमातर्फ दुईटा दाबीको १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म शुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । रासस