बागलुङ। चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ ।
बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुईटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर बागलुङ-कुश्मिसेरा बागलुङ सडकको दिगो समाधानका लागि तीन करोड खर्चेर पहिरो नियन्त्रण गर्न थालिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका डिभिजन प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हिउँदमा जसोतसो चल्ने सवारीसाधान बर्खामा पर्वत घुमेर आउनुपर्ने बाध्यताको अन्त्यका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको तीन करोड रकमले पहिरो नियन्त्रणको काम थालिएको हो ।
पहिरो नियन्त्रणका लागि १८ करोड खर्च लाग्ने लागत अनुमान गरिएकामा बहुवर्षीय योजनामा समावेश गरी नियन्त्रणको काम थालिएको श्रेष्ठले बताए । ठेक्का खोल्नुपूर्व अध्ययनको टोलीसमेत फर्किएको बताउँदै चालु आवमा पहिरोको समस्यालाई समाधानको प्रयास गरिएको उनको भनाइ छ ।
पहिरो थप बग्न नदिन पानी तर्काउने, भकुण्डेको द्वारा, गलुवा हुँदै आउने पानीलाई दिगो रूपमा तर्काउने योजना रहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
पहिरो नियन्त्रण पूर्ण आयोजना प्रमुखसहित गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदी र प्राविधिक तथा कन्सल्टेन्ट टोलीले दब्ल्याङ पहिरो, पहिरोबाट माथिल्लो भागको स्थलगत अवलोकन गरेकाले तत्काल काम थाल्ने निर्णय भएसँगै प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे ।
“पहिलो चरणमा माथिबाट बग्ने पानी व्यवस्थापन गरेपछि सडक बनाउनुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख भएअनुसार काम हुन्छ । चालु आवको तीन करोड बजेटले नियन्त्रण व्यवस्थापन र संरक्षणको काम गर्ने हो”, श्रेष्ठले भने । पहिरो माथिको पानी व्यवस्थापन गरेर नजिकैको नेवारे खोला हुँदै काठेखोलामा खसाउने काम गरिने उनले जानकारी दिए ।
“यसअघि यस क्षेत्रमा सडक पुर्याउने र कच्ची नाली बनिसकेको छ । पानी पन्छाउना साथ पहिरो रोकिन्छ र संरक्षणसहितको दिगो व्यवस्थापन हुन्छ”, उनले भने ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका डिभिजन प्रमुख श्रेष्ठका अनुसार यस वर्ष पहिरोको पानी तर्काउने कामसँगै पहिरो क्षेत्रमा बायो इञ्जिनियरिङ प्रविधिको प्रयोगबाट नियन्त्रणको प्रयास हुनेछ ।
पहिरो व्यवस्थापनका लागि दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा अध्ययन सम्पन्नपश्चात् विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य सुवेदीले दक्षिण बागलुङको लाइफलाइनमा भएको ठूलो पहिरो नियन्त्रणसँगै विकल्पमा गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीमा पक्की पुल बनाउने काम थालेको बताए ।
उनका अनुसार पहिरो नियन्त्रणका लागि पटकपटक भएका प्रयास असफल भएपछि दिगो व्यवस्थापनको काम थालिएको हो ।
पहिरो हटाउन र दिगो व्यवस्थापनका लागि पूर्वाधार विकास कार्यालय र बागलुङ नगरपालिकाले गरेको लाखौँ रकम खेर गएपछि दिगो समाधानका लागि पुनः पहल थालिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जनाएको छ । रासस