arrow

नौ सय एक अर्ब डलरको रक्षा नीति विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
trump-12-21.jpg
तस्बिर : फाइल

काठमाडौँ । अमेरिकी सिनेटले आर्थिक वर्ष २०२६ का लागि नौ सय एक अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ ।

यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको छ । विधेयक ७७-२० मतले पारित भएको हो । जसमा दुवै पार्टीको व्यापक समर्थन देखिएको छ ।

हाउस र सिनेटले आफ्ना छुट्टाछुट्टै संस्करणहरूलाई मिलाएर यो सम्झौता संस्करण तयार पारेका थिए । जसलाई हाउसले गत हप्ता पारित गरेको थियो ।

तीन हजार पृष्ठभन्दा बढी लामो यो विधेयकमा सैनिकहरूलाई करिब चार प्रतिशत तलब वृद्धि, पेन्टागनको हतियार खरिद प्रक्रियालाई तिब्र बनाउने सुधार, अमेरिकी गोल्डेन डोम मिसाइल रक्षा प्रणालीको विकास र सैन्य तयारीलाई बढावा दिने प्रावधानहरू समावेश छन् । 

विधेयकअनुसार ट्रम्प प्रशासनले दुई वर्षका लागि वार्षिक चार  सय मिलियन डलर गरी कुल आठ सय मिलियन डलर युक्रेनलाई हतियार उत्पादनका लागि छुट्याएको छ ।

यसले युरोप र दक्षिण कोरियामा अमेरिकी सैनिक संख्या घटाउन सहयोगी देशहरूसँग परामर्श अनिवार्य गरेको छ ।

यसबाहेक विधेयकले जहाज निर्माणका लागि २६ अर्ब डलर, विमानका लागि ३८ अर्ब डलर र गोला-बारुद उत्पादन बढाउन २५ अर्ब डलर छुट्याएको छ ।

विधेयकले पेन्टागनका विविधता, समानता र समावेशिता (डीईआई) कार्यालयहरू खारेज गर्ने, जलवायुसम्बन्धी खर्चमा १दशमलव६ अर्ब डलर कटौती गर्ने, १९९१ र २००२ का इराक युद्ध प्राधिकरणहरू खारेज गर्ने र सिरियामाथि अमेरिकी प्रतिबन्धहरू स्थायी रूपमा हटाउने प्रावधान राखेको छ ।

राष्ट्रपति ट्रम्पले आगामी दिनमा यो विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ