अनाई खोलामा निर्माणाधीन पुलको निर्माण कार्य अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
685
Shares
बाजुरा। बाजुराको मार्तडी-कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बीचमा पर्ने अनाई खोलामा निर्माणाधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ठेक्का सम्झौता भएको दुई बर्षभित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो।
गत असार मसान्तसम्म पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।
२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निर्माण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ ।
पाँच करोड ३४ लाख १० हजार नौ सय १८ रुपैयाँ लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको बजेटमार्फत पुलको निर्माण कार्य भइरहेको छ ।
अबको तीन महिनामै सम्पूर्ण निमार्ण कार्य सक्ने लक्ष्य राखिएको निर्माण व्यवसायी तारादत्त जोशीले बताए ।
सामान ढुवानीमा समस्या हुँदा निर्माण कार्यमा केही ढिलाई भएको जोशीको भनाइ छ ।
पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए ।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरेलगत्तै निर्माण कार्य शुरू गरेको र अहिले निर्माण कार्य करिब अन्तिम चरणमा पुर्याएको थापाको भनाइ छ ।
पुलको निर्माण कार्य सम्पन्न भएपश्चात् सवारीसाधन र यहाँका स्थानीयलाई सहजता मिल्ने अपेक्षा लगिएको छ ।
बर्षातको समयमा सास्ती खेप्दै आएका सवारीसाधन र स्थानीयलाई पुल निर्माणले ठूलो सहजता मिल्ने बडीमालिका-७ का स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।
यता बाउली खोलामा निमार्णाधीन पुल भने करिब पाँच बर्षदेखि कछुवा तालमा छ ।
टीडी आर जुगल कौसिक जेभीले पुल निर्माणको जिम्मा लिएको थियो ।
पटक-पटक म्याद थप्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन्।
२०७९ फागुन १५ भित्र मोटरेबल पक्की पुल निर्माण सक्नेगरी २०७८ कार्तिक १५ गते टीडीआर जुगल कौशिक जेभीले पाँच करोड ५८ लाख ८८ हजार रुपैयाँमा सम्झौता गरेर निर्माणको जिम्मा लिएको थियो।
पुल निर्माण हुन नसकेर अहिले अस्तव्यस्त अवस्थामा छ।
पुल निर्माण कम्पनीलाई सडक डिभिजन अछामले स्पष्टीकरणसमेत माग गरेको थियो ।