arrow

ट्रम्पको नाकाबन्दीविरुद्ध भेनेजुएलाको पक्षमा उभियो मस्को: ‘घातक गल्ती’ नगर्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
venezuela-america-trump-maduro.jpg

काठमाडौँ | रुसले भेनेजुएलाको राजनीतिक सङ्कटमा हस्तक्षेप नगर्न र कुनै पनि 'घातक गल्ती' नगर्न अमेरिकी ट्रम्प प्रशासनलाई कडा चेतावनी दिएको छ। मस्कोले आफ्नो रणनीतिक सहयोगी काराकास (भेनेजुएला) सँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वासिङ्टनलाई संयमता अपनाउन आह्वान गरेको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसै हप्ता भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करहरूलाई नाकाबन्दी गर्न आदेश दिएपछि दुई देशबीचको सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको हो। वासिङ्टनले भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोलाई सत्ताच्युत गर्न दबाब दिँदै आएको छ। यद्यपि, भेनेजुएलाले भने अमेरिकी प्रतिबन्धका बाबजुद आफ्नो कच्चा तेलको निर्यातमा कुनै असर नपरेको दाबी गर्दै आएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्षेत्रका सबै देशहरूलाई संयम अपनाउन आग्रह गर्दै स्थिति अप्रत्याशित रूपमा बिग्रन नदिन सचेत गराएका छन्। रुसी विदेश मन्त्रालयले ह्वाइट हाउसको कदमले सम्पूर्ण पश्चिमी गोलाद्र्धमा गम्भीर र अप्रत्याशित परिणाम निम्त्याउन सक्ने उल्लेख गरेको छ। रुसले मदुरो सरकारलाई समर्थन गर्दै वार्तामार्फत तनाव कम गर्न जोड दिएको छ।

नेता मदुरो लामो समयदेखि क्रेमलिनको भरपर्दो सहयोगीका रूपमा रहँदै आएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिनाको सुरुमा मदुरोलाई फोन गरेर आफ्नो समर्थन जारी रहने प्रतिबद्धता दोहोर्‍याएका थिए। विगतमा पनि रुसले भेनेजुएलाको सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्न ठूलो आर्थिक र रणनीतिक सहयोग उपलब्ध गराउँदै आएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलालाई 'दक्षिण अमेरिकाको इतिहासकै ठूलो अर्मादा (नौसैनिक बेड)' ले घेरेको दाबी गरेपछि यो भू-राजनीतिक टकराव थप चुलिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ