arrow

सामाजिक सञ्जालले चिनाएको पर्यटन 'जोन'

logo
नारायण वली,
प्रकाशित २०८२ पुष ४ शुक्रबार
shiv viral dada-kaplivastu-2.jpg

लुम्बिनी । समाजमा लुकेका प्रतिभादेखि पर्यटकीय गन्तव्यलाई चर्चित बनाएर फेरबदल गर्नसक्ने क्षमता देखाएको छ सामाजिक सञ्जालले । देशकै प्रमुख पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने पहाड काटिदा बनेका दुई शिखर कडा चट्टान कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरई खोला नजिकै चुरे पहाडमा रहेको दुई चुचुरा सामाजिक सञ्जालकै कारण चर्चित पर्यटकीय गन्तव्यमा दर्ज भएको छ । 

जसको नाम ‘ शिव भाइरल डाँडा’ राखिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ शिव भाइरल डाँडा’ यतिबेला भाइरलै छ । फेसबुक र टिकटकमा देखेपछि बुटवल उपमहानगरपालिका–९ कालिकानगर निवासी विष्णु खड्काको मन पनि लोभियो । जसले पनि ‘ शिव भाइरल डाँडा’ पुगेको फोटो र भिडियो अपलोड गर्दा कहिले पुगूँ भएको थियो उनलाई । अरुको देख्दा आफूलाई तस्बिर खिचाउनैका लागि भए पनि धोको पूरा गर्न साथीहरुसँग मिलेर आयौं । चुरे पहाडको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा रहेको ‘ शिव भाइरल डाँडा’ नौलो गन्तव्य भएकाले धेरैको मन जितेको उनको बुझाइै छ । साथीभाइ र परिवारसँग ‘रिफ्रेस’ हुनलाई यो गन्तव्य उपयुक्त हुने उनले बताए ।

विष्णु जस्तै सामाजिक सञ्जालमा देखेकै भरमा यहाँ घुम्न आउने आन्तरिक पर्यटक दैनिक बढिरहेका छन् । दैनिक सयौं सवारी ओहोरदोहोर गर्ने राजमार्गमा रहेको उक्त स्थानमा घुम्न आउनेहरुको संख्या बढ्दै गएको स्थानीय बताउँछन् । दुई पहाडमध्ये पश्चिम तर्फको चुचुराको भित्तामा भगवान शिवजीको तस्बिर पेन्टिङ गरिएको छ । नजिकै वासुकी नागको मूर्ति बनाइएको छ स्थानीय सरिता बिकले भनिन्, यसरी यहाँ पर्यटक बढ्लान् भन्ने अपेक्षा नगरिए पनि सामाजिक सञ्जालले पर्यटकीय गन्तव्य बनाउन सघाएको छ ।

दुई वर्षदेखि चर्चामा आएको डाँडामा यो वर्ष झनै पर्यटक वृद्धि भएको बताइएको छ । पर्यटक बढ्नुको श्रेय सामाजिक सञ्जाललाई दिन्छन् स्थानीयवासीहरु ।  उत्तः दुई चुचरा डाँडा राजमार्ग खोलेपछि बनेको भएपनि तर यस्तो पर्यटन क्षेत्रको रुपमा चिनिएको थिएन । स्थानीयहरु भन्छन्, टिकटक, फेसबुकले त भाइरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।

सबैको नजरले देखेपनि तर कुनैबेला सुनसान डाँडाको सुन्दरता नियाँल्न पुग्नेको यतिबेला दैनिक भीड लाग्ने गर्दछ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तँछाडमछाड नै देखिन्छ । शनिबार डाँडामा आउने पर्यटकको भीडभाड अन्य दिनको तुलनामा बढी हुने गर्दछ । डाँडामा आउने युवायुवती धेरै हुन्छन् । 

सामाजिक सञ्जालको सही सदुपयोग भए पर्यटन प्रवर्द्धनको गतिलो माध्यम सामाजिक सञ्जाल हुने हेर्न आएका सौगत पोख्रेलले बताए । बसाइँसराइले रित्तिदै गरेको पहाडमा यस्ता डाँडाहरु पर्यटकिय गन्तव्य बन्न थालेपछि पहाडको महत्व बुझ्नेहरुको संख्या बढ्दै गएको उनी बताउँछन् । उनले थपे, यहाँ स्थानीय तहले लगानी गरेर आर्थिक उत्पादनको हब बनाउन सक्ने सम्भावना छ ।

पर्यटन प्रवद्र्धनमा पछिल्लो समय सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको पर्यावरणकर्मी डिल्लीबहादुर रावत बताउँछन् । पछिल्लो समय सञ्चारकर्मीको  क्यामेरा र कलमले समेत पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइरहेकाले पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको छ । जति प्रचारप्रसार हुन्छ त्यति नै पर्यटक भित्रिन्छन्, उनले भने, कतिपय गन्तव्यमा सामाजिक सञ्जालमा भाइरल भएर पर्यटक आउन थालेपछि मात्रै पूर्वाधार विकासको चरण शुरु भएको उदाहरण छन् ।

पर्यटन प्रवर्द्धनसँगै विपन्नको आडभरोसा, आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा आर्थिक संकलन, भोकालाई खाना र नाङ्गालाई नानाको प्रबन्ध मिलाउनसमेत सामाजिक सञ्जाल प्रभावकारी ठहरिएको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दा यस्ता रचनात्मक काममा सहयोग पुग्ने उनको भनाई छ । भाइरल डाँडा’ नजिकैै रहेको खोलामा तातो पानीको मुल भएको प्रचारप्रसार हुन नसक्दा त्यसको महत्व बाहिर आउन सकेको छैन् । उक्त तातो पानी मुललाई संचित गर्न सकेमा डाँडाको दृश्य नियाँल्न र तातो पानीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ