arrow

झुटो विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
kirte-citizenship.jpeg

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरेर नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी (पासपोर्ट) बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा दाङ र झापा घर भई हाल काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका व्यक्तिहरू रहेका छन्।

पक्राउ पर्नेहरूमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौँ ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरूले सरकारी कागजात कीर्ते गरी गैरकानुनी रूपमा परिचयपत्रहरू बनाएको जानकारी दिए।

पक्राउ परेका यी व्यक्तिहरूमाथि नागरिकता ऐन, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए।

सरकारी कागजातको दुरुपयोग र सङ्गठित रूपमा गरिएको कीर्ते कार्यमा संलग्न अन्य पक्षबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ