arrow

जेन–जी आन्दोलन जाँचबुझ आयोगको एक्सन

जाँचबुझ आयोगले ओली, लेखक सहितका शीर्ष नेतालाई बयानमा बोलाउँदै [भिडियो]

बोलाउँदा पनि नआउनेहरूका हकमा के गर्ने भन्ने विषयमा पछि नै निर्णय लिने, आयोगको म्याद एक महिना थपिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
gauribdkarki.jpg

काठमाडौँ । जेन–जी युवा आन्दोलनका क्रममा भएको धनजनको क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरूलाई पक्राउ गरी बयान लिनुपर्ने माग उठिरहेका बेला आयोगले यो सक्रियता देखाएको हो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी अनुसन्धानको पछिल्लो अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले अर्को हप्ता बाँकी रहेका सबै राजनीतिक व्यक्तिहरूलाई बयानका लागि बोलाइने स्पष्ट पारे। उनले भने, “हामी सबैलाई बोलाउँछौँ, अर्को हप्ताको तयारी छ। बोलाउँदा पनि नआउनेहरूका हकमा के गर्ने भन्ने विषयमा पछि नै निर्णय लिनेछौँ।”

अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा भएको हिंसा र क्षतिको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न कार्कीको नेतृत्वमा यो आयोग गठन गरेको थियो।

आयोगले अहिले अन्तिम चरणको बयान र प्रमाण सङ्कलनको काम गरिरहेको छ। राजनीतिक नेतृत्वसँगको बयानपछि आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ।

यसैबीच, सरकारले आयोगको म्याद एक महिना थप गर्ने भएको छ। यही पुस ९ गते म्याद सकिन लागेको सन्दर्भमा अध्यक्ष कार्कीले काम बाँकी नै रहेको भन्दै समय थपका लागि गरेको आग्रहमा प्रधानमन्त्री सहमत भएकी छन्।

दशैँ–तिहारका बिदा र प्रहरीले बेलैमा नामावली नपठाउँदा काममा केही ढिलाइ भएको आयोगको भनाइ छ। प्रधानमन्त्रीले प्रक्रिया पुर्‍याएर प्रस्ताव पठाउन निर्देशन दिएकी छन् र अब आयोगले आगामी माघसम्ममा आफ्नो प्रतिवेदन बुझाउने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ