काठमाडौँ। नबिल बैङ्क लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य सञ्चित अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अङ्कितका दरले पाँच करोड कित्ता अविमोच्य सञ्चित अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैङ्कले जनाएको छ।
नेपाल धितो पत्र बोर्डको स्वीकृतिपछि बैङ्कले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाँट गरेको हो। संस्थागत लगानीकर्ताहरूलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार शेयर बाँडफाँट गरिएको हो।
नेपाल राष्ट्र बैङ्क तथा नेपाल धितो पत्र बोर्डले अविमोच्य सञ्चित अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितो पत्र बोर्डबाट पहिलो पटक नबिल बैङ्कले प्राप्त गरेको हो। अविमोच्य सञ्चित अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैङ्कले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पुँजी बजार उपकरण हो।
यस उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैङ्कको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिएको छ।
नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।