arrow

पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिबद्धता

पर्यटन र आइसीटीमा आकर्षण, कृषिमा ठूलो लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
lagani-maitri.jpg

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा वैदेशिक लगानीको आकर्षण उत्साहजनक देखिएको छ। उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार साउनदेखि मंसिरसम्म कुल ४ सय ३८ वटा परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पछिल्लो समय नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रमा विदेशी लगानीकर्ताहरूको निकै रुचि देखिएको छ। कुल स्वीकृत परियोजनामध्ये आधाभन्दा बढी अर्थात् २ सय ३६ वटा आइसीटी क्षेत्रसँग सम्बन्धित छन्। यद्यपि, लगानीको परिमाणका आधारमा भने कृषि तथा वनजन्य उद्योग सबैभन्दा अगाडि देखिएको छ, जहाँ करिब २२ अर्ब रुपैयाँको लगानी प्रस्ताव आएको छ। त्यस्तै पर्यटन क्षेत्रमा पनि उल्लेख्य आकर्षण देखिएको छ, जहाँ १३५ परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

क्षेत्रगत हिस्साका आधारमा आइसीटी क्षेत्रले कुल परियोजनाको ५४ प्रतिशत ओगटेको छ भने पर्यटनले ३१ प्रतिशत हिस्सा ओगटेको छ। बाँकी ६ प्रतिशत सेवा, ६ प्रतिशत उत्पादन र ३ प्रतिशत कृषि क्षेत्रमा रहेको छ। संख्यात्मक रूपमा आइसीटीमा धेरै परियोजना भए पनि यस क्षेत्रको कुल लगानी भने करिब १ अर्ब रुपैयाँमा सीमित देखिएको छ।

परियोजनाको प्रकृति हेर्दा साना उद्योगहरूमा विदेशी लगानीकर्ताको रुचि बढी देखिएको छ। स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र ७ वटा मात्र ठूला उद्योग रहेका छन्। उद्योग विभागका अनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिब १ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। यसै अवधिमा विदेशी लगानीकर्ताहरूले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति समेत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ