मथुरामा भयानक दुर्घटना: सात बस र तीन कार ठोक्किँदा चार जनाको जलेर मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
1.7k
Shares
काठमाडौँ । भारतको मथुरामा सातवटा बस र तीनवटा कार ठोक्किएर भीषण दुर्घटना भएको छ। मंगलबार बिहान करिब ४ बजे मथुराको यमुना एक्सप्रेसवेमा बाक्लो कुहिरोका कारण सातवटा बस र तीनवटा कार ठोक्किएर भीषण दुर्घटना भएको हो। यो भयानक ठोक्काइपछि केही गाडीहरूमा आगो पनि लागेको थियो।
एक्सप्रेसवेमा अचानक बाक्लो कुहिरो देखा परेपछि एउटा बसको गति ढिलो हुनु र त्यसपछि पछाडिबाट आउँदै गरेको अर्को बसले ठोक्किनु नै यो शृङ्खलाबद्ध दुर्घटनाको कारण बनेको खबर छ।
दुर्घटनामा अहिलेसम्म चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। घटनास्थलमा बसहरू भित्र मानव शरीरका अंगहरू फसेको पाइएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। अहिलेसम्म दुर्घटनामा ६६ जना घाइते भएको बताइएको छ । यद्यपि एक प्रत्यक्षदर्शीले २० एम्बुलेन्समा १५० जनालाई अस्पताल लगिएको बताएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।
जिल्ला मजिस्ट्रेट र एसएसपी लगायतका अधिकारीहरू घटनास्थलमा पुगेका छन्। प्रहरी, दमकल, एसडीआरएफका कर्मचारीहरूले आगो निभाउने र उद्धार कार्यमा काम गरिरहेका छन्।
मुख्यमन्त्री योगी आदित्यनाथले उद्धार कार्यको निगरानी गरिरहेका छन् र मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ।