दृढ अठोट र ऊर्जासहित आचरणशील नेतृत्वको खाँचो : राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
597
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबैलाई देश विकासमा समर्पित हुन आह्वान गरेका छन्। उनले त्यसका लागि नवीन सोच, शैली, योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन्। राष्ट्रपति पौडेलले ३१औँ महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
उनले राजनीतिलाई पेसा वा व्यवसाय होइन, समाजसेवाको उत्कृष्ट माध्यमको रूपमा लिनुपर्ने भाव हामी सबैमा जागृत हुन जरुरी रहेको बताएका छन्। नेपाली जनता र युवा पुस्ताले गरेको मुख्य अपेक्षा पनि यही रहेको उनको भनाइ थियो। मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उनले अपिल गरेका छन्।
राष्ट्रपति पौडेलले काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको बताए। उनले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवद्र्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको उल्लेख गरे। साथै, विद्युतीय शासनमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको उनले बताए।
काठमाडौँ नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रूपान्तरणको अनुभूति गर्ने सहर भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन, यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा राष्ट्रपतिले व्यक्त गरेका छन्। उनले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङ्घ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल को सहभागिता रहेको थियो। महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार प्रदान गरेका थिए।