arrow

एनपीएलले दिएको सन्देश

logo
राजु सिलवाल
प्रकाशित २०८२ मंसिर २८ आइतबार
raju-silwal-npl-article.jpg

काठमाडौँ । एनपीएल क्रिकेटको दोस्रो संस्करणको समापनसँगै यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित करिब एक महिना लामो प्रतिस्पर्धाले नेपाली क्रिकेट मनोरञ्जनको माध्यममात्र नभई व्यावसायिकतातर्फ उन्मुख भएको सन्देश दिन सफल भएको छ । मुलुकमा राजनीतिक परिवर्तनपछि अन्योलपूर्ण अवस्थामा पनि बिना कुनै व्यवधान सफलतापूर्वक प्रतियोगिता सम्पन्न हुनु उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। सरकारको प्राथमिकतामा रहेर वर्षामा पनि निरन्तर निर्माण कार्य जारी राख्दै फ्लडलाइट जडान गरी पहिलोपटक रातिको समयमा खेल सञ्चालन गर्नु, दशौँ हजार दर्शकलाई बस्ने सिटको व्यवस्था हुनु एनपीएल सफलताका उदाहरण हुन् ।

यस्तै, निजी क्षेत्रले करोडौँ रुपैयाँ लगानी गर्दै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीलाई-आफ्ना टिममा समावेश गरेकाले नै नेपाल तथा विश्वकै क्रिकेटप्रेमीले रोमाञ्चकारी प्रतिस्पर्धाबाट लाभान्वित हुने अवसर पाएका छन् । प्रत्यक्ष रुपमै लाखौँ दर्शकको आकर्षण देखिएपछि भर्खरै निर्माण तथा मर्मतसम्भार गरिएको कीर्तिपुर रङ्गशाला नै अब सानो भएको महसुस गराउन सफल एनपीएलले अब दीर्घकालीन रुपमा नेपाली खेलकुदकै ठूलो ब्राण्डका रुपमा स्थापित हुने स्पष्ट सङ्केत गरेको छ ।

एकपक्षीय फाइनल

गत वर्ष एनपिएल क्रिकेटको पहिलो संस्करणका बेला लुम्बिनी टिम सहभागी टिममध्ये सबैभन्दा पुछारमा पुगेपछि कप्तान रोहित पौडेलको आलोचना हुँदै आइरहेको थियो । कतिपयले उनलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीबाटसमेत हटाउनुपर्ने जस्ता आवाज उठाउने गरेका थिए तर एनपीएल क्रिकेटको दोस्रो प्रतियोगितामा उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर मोटरकार, मोटरसाइकल पाउनुका साथै विजेता ट्रफी उचालेर सशक्त कप्तानका रुपमा इतिहास रच्न सफलता प्राप्त गरेका छन् । शनिबार भएको फाइनलमा एकपक्षीय खेल बनाउन कप्तान रोहित नेतृत्वको लुम्बिनी लायन्स टिमले सफलता पाएको थियो ।

यसपाली संयोगले फाइनलमा नेपाली राष्ट्रिय टिमका कप्तान र उपकप्तानबीचको भिडन्त थियो । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स टिमले उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सको टिमलाई ६६ बल बाँकी रहँदै ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। गत वर्षको उपविजेता सुदूरपश्चिमाञ्चलले यसपटक लिग चरणमा सशक्त खेल प्रदर्शन गर्दै लगातार छ खेल जितेपछि उच्च मनोबलमा देखिएको थियो ।

गत वर्षको विजेता जनकपुर बोल्डस टिम लिग चरणै बाहिरिएपछि नयाँ उपाधि जित्ने होडमा सुदूरपश्चिम रहेको थियो । लुम्बिनी प्रदेशलाई समेत ७ विकेटले पराजित गरिसकेकाले आत्तिनुपर्ने स्थिति थिएन तर एनपिएलको फाइनलमा दुई पटक पुग्न सफल सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्नु नै घातकसिद्ध हुन पुग्यो । उक्त टिमलाई जित्नैपर्ने दबाब थियो तर ब्याटिङमा संयमता हुन सकेन । लगातार नौ विकेट गुम्नु पीडादायी थियो तर लुम्बिनी भने कुनै दबाबबिना फाइनलमा उत्रेको थियो । लुम्बिनीले प्रत्येक खेलमा सुधार गर्दै विजयीको भागिदार बन्न पुगेको मान्न सकिन्छ ।

फाइनल खेललाई प्रतिस्पर्धात्मक भएको दर्शकले देख्न पाएनन् । सुदूरपश्चिमले १०० रन पनि बनाउन नसकी लुम्बिनीलाई ८६ रनको चुनौती दिनु भनेको अत्यन्त कमजोर प्रदर्शन मान्नुपर्छ तर लुम्बिनीले भने ३६ बल बाँकी रहँदै सहजै ६ विकेटले उपाधि हात पार्न पुग्यो । अन्य खेलमा झैँ हिजो पनि छक्काको वर्षा भएको थियो तर एकपक्षीय रुपमा । लुम्बिनीका लागि विष्फोटक ब्याट्सम्यान दिनेश अधिकारीले गरेको ४ ओटा छक्कासहित बनाएको ४२ रनले टिमलाई छिटो विजय नजिक लगेको थियो । खेलको अवस्था हेर्दा लुम्बिनीलाई छिटो खेल समाप्त गरी ट्रफी उचाल्ने हतार भैरहेको महसुस हुन्थ्यो ।

करोडौँको पुरस्कार

एनपिएल क्रिकेटका सहभागी खेलाडीका लागि ठूलो लागतको पुरस्कार पनि प्रमुख आकर्षण बन्दै आइरहेको छ । विभिन्न विधाका खेलाडीको प्रोत्साहनका लागि धेरै पुरस्कारका लागि निजी क्षेत्रले प्रायोजन जुटाएर आयोजकलाई सहयोग गरिरहेको छ । यसपटक पनि एपीएलमा विजेता टिम र उत्कृष्ट खेलाडीलाई करोडौँ रुपैयाँ पुरस्कार प्रदान गरियो । विजेता टिम लुम्बिनीले रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो । दोस्रो भएको सुदूरपश्चिम टिमले रु ५१ लाख, तेस्रो टोली विराटनगर किङ्ग्सले रु २५ लाख तथा चौथो टोली काठमाडौँ गोर्खाजले रु १५ लाख पुरस्कार प्राप्त गरेको थियो । यसबाहेक खेलाडीले पनि व्यक्तिगत रुपमा पचासौँ लाख पुरस्कार पाएका थिए । लुम्बिनीका कप्तान रोहित पौडेलले प्राप्त गरेको मोटरकार, मोटरसाइकलका साथै विराटनगरका सन्दीप लामिछाने, लुम्बिनीका शेर मल्लले मोटरसाइकल पुरस्कार पाएका थिए । अन्य स्वदेशी तथा विदेशी खेलाडीले विभिन्न विधामा नगद पुरस्कार प्राप्त गरेका थिए । खेलाडीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

प्रतिस्पर्धात्मक स्तर

यस सिजनको एनपिएलले प्रभाव पारेको महत्वपूर्ण विषय हो प्रतिस्पर्धात्मक स्तर । यसपालि अधिकांश खेल अन्तिम ओभरसम्म रोचक बनेका थिए । सहभागी टिमले अन्तिम समयसम्म गरेको प्रयासले खेलको स्तरलाई प्रतिस्पर्धात्मक बनाएको थियो । स्वदेशी तथा विदेशी खेलाडीको सम्मिश्रण भएको टिमबीच भएको प्रतिस्पर्धाबाट दर्शकले स्तरीय खेल हेर्ने अवसर पाएका थिए । विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय खेलाडीको खेलमा प्रभाव देखिनुका साथै घरेलु खेलाडीको प्रयासले प्रतियोगिताको गुणस्तरलाई केही हदसम्म उठाउन सहयोगीको भूमिका खेलेको थियो । यसबाट नेपाली खेलाडीको स्तर तथा आत्मविश्वास विगतको तुलना बढेको महसुस गरिएको छ ।

दर्शकको उत्साह

एनपिएलको प्रमुख विशेषता भनेकै दर्शकको उपस्थिति हुन पुग्यो । विगतका वर्षदेखि नै विभिन्न मुलुकमा नेपाली राष्ट्रिय टिमको खेल भएका बेला नेपाली दर्शकको ठूलो सङ्ख्यामा उपस्थितिलाई विश्व किक्रेट जगतले प्रशंसा गर्दै आइरहको छ । नेपालका विभिन्न जिल्लाबाट दर्शक एनपिएल क्रिकेट हेर्न काठमाडौँ आएका थिए। हरेक म्याचमा दर्शकको भब्य उपस्थितिले खेलमा विशेष रौनक ल्याउन सफल भएको थियो । बालबालिकादेखि पाका उमेरका दर्शक खेलमा उपस्थिति हुने गरेको, सहभागी टिमको जर्सी, राष्ट्रिय झण्डा तथा क्लबका झण्डासहित दर्शकको आगमनले राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाएको पाइएको छ । टेलिभिजनको प्रत्यक्ष प्रसारण तथा डिजिटल फम्र्याटमार्फत संसारको विभिन्न कुनामा बसेका नेपालीका साथै क्रिकेटप्रेमी विश्वमाँझ जोडिन पुग्दा क्रिकेटको प्रभाव अझ विस्तार हुन पुगेको छ ।

टिकटको उच्च माग

एनपिएल क्रिकेटका टिकट खेल अगाडि नै सकिनु यो प्रतियोगिताप्रति खेलप्रेमीहरूको अत्यधिक आकर्षण भएको मान्न सकिन्छ । क्रिकेटका खेल हेर्न दर्शक निक्कै आतुर  थिए । कीर्तिपुर रङ्गशालामा दिनहुँजसो भिड देखिन्थ्यो । विभिन्न खेलका बेला अनलाइनमा सम्पूर्ण टिकट बिक्री भई ‘सोल्ड आउट’ भइसकेको जानकारी आयोजकले दिए पनि खेलका बेला प्याराफिटका रङ्गीन सिट खाली भएको देखिन्थ्यो । यसरी टिकट बिक्री भए पनि सिट खाली भएको स्थिति कसरी उत्पन्न भएको थियो तथा टिकटको कालोबजारी भएको भन्ने जनगुनासोबारे क्यानले छानबिन गर्न जरुरी मानिएको छ । प्रतियोगिताको अन्तिम घडीमा क्यानले एक्कासी टिकटको मूल्य बढाउनु पनि उचित थिएन ।

हेलिकप्टर यात्रा

एनपिएलका क्रममा नेपाल आएका विभिन्न अन्तर्राष्ट्रिय खेलाडीले नेपालमा गरेको विभिन्न भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विराटनगर किङ्ग्स टिमका तर्फबाट खेलेका अन्तर्राष्ट्रिय खेलाडीले सेमिफाइनलबाट टिम बाहिरिएपछि हेलिकप्टरबाट सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । अतिथि खेलाडी मार्टिन गुप्टिल, फाफ डू प्लेसिस र मर्चेण्ट डे लाङ्गेले नेपालको क्रिकेटका साथै नेपालको प्राकृतिक सौन्दर्यको पनि प्रत्यक्ष अनुभव गरेका छन् । उनीहरूले हिमाली क्षेत्रमा खिचेको फोटोकामाध्यमबाट नेपालको विश्वमा प्रचार भएको छ । अन्य टिमका खेलाडी, अफिसियल तथा अन्य अतिथिहरुले पनि नेपालको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएको धारणा व्यक्त गरेका छन् ।

क्रिकेटप्रेमीका प्रिय

एनपीएल क्रिकेटको फाइनलको दिन क्रिकेट कमेन्टेटर एण्ड्रयु लियोनार्ड नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर कीर्तिपुर रङ्गशालामा बोलिरहेका थिए । अन्य कमेन्टेटरले भने ढाका टोपी लगाएका थिए । केही वर्षदेखि कमेन्टेटर एण्ड्रयुको लोकप्रियता नेपाली क्रिकेटप्रेमीमाझ बढ्दो छ । नेपालको मित्रका रुपमा परिचय बनाएका आयरल्याण्डका पूर्वक्रिकेटर एण्ड्रयु सन् २०१८ मा एभरेष्ट प्रिमियर लिगमा टेलिभिजन कमेण्ट्रीका लागि पहिलोपटक नेपाल आएका थिए । त्यसपछि विभिन्न पटक नेपाल आएका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उद्घोषण गर्दा नेपालको क्रिकेटका साथै समग्र नेपालको खुलेर प्रशंसा गर्दै विश्वमा नेपालको प्रचारप्रसारका लागि योगदान गर्दै आएका छन् । यसपाली कीर्तिपुर रङ्गशालामा खेल हेर्न गएका दर्शकमध्ये केहीले उनकै मुखाकृति झल्कने मुखुण्डोसमेत लगाएर आएको देखिएको थियो । उनी प्रत्यक्ष प्रसारणका क्रममा बोलिरहँदा उनको ठूलो आकारको तस्बिर तथा ब्यानर देखेपछि भावुक हुन पुगेका थिए ।

पहिलोपटक क्रिकेट एकेडेमी

गत वर्षको विजेता जनकपुर बोल्टस टिमले यसपालि उचित नतिजा हासिल गर्न नसके पनि क्रिकेट प्रशिक्षणको निरन्तरताका लागि सक्रिय रहने भएको छ । एनपीएल क्रिकेटमा सहभागी आठ टिममध्ये पहिलोपटक जनकपुर बोल्ट्स टिमले जेबी क्रिकेट एकेडेमीको घोषणा गरी क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने भएको छ । एकेडेमीले मधेस-प्रदेशका स्थानीय खेलाडीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । यसबाट आगामी दिनमा नयाँ प्रतिभाका लागि अवसरको ढोका खुल्न जाने अपेक्षा गरिएको छ ।

अन्त्यमा, एनपीएल क्रिकेटको समाप्ति सँगसँगै यस सिजनमा देखिएका चुनौतीलाई भविष्यमा अझ व्यवस्थित बनाउँदै विश्वस्तरीय फ्रेन्चाइज क्रिकेटको बाटोतर्फ अघि बढ्नु जरुरी मानिएको छ । दर्शकको व्यापक समर्थनले यो अब लिग अब नेपालमा मात्र नभई क्षेत्रीय बजारमै पनि प्रतिस्पर्धी हुनसक्ने सङ्केत मिलेको छ । क्यानको अबको महत्वपूर्ण जिम्मेवारी भनेको आर्थिक विश्वसनीयतालाई प्रमुख प्राथमिकता दिनु हो । एनपीएलका आम्दानी तथा खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरेर पारदर्शिता कायम गर्नु जरुरी देखिएको छ ।

यस प्रतियोगिताका क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेका प्रतिभाहरुलाई आगामी विश्वकपका लागि छनोट गरिने नेपाली टिममा समावेश गरी राष्ट्रिय टिम अझ बलियो बनाउन अग्रसरता देखाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । एनपिएलमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी, शेर मल्ल, बसिर अहमदलगायतका खेलाडीलाई राष्ट्रिय टिममा समेटन सकिएको खण्डमा आगामी टी-ट्वान्टी विश्वकपमा नेपाललाई फाइदा हुने देखिन्छ । नेपाललाई टेष्ट म्याच खेल्ने राष्ट्रको सूचीमा समावेश गर्न आगामी दिनमा सुधारका प्रयास जारी राख्नुपर्छ । एनपीएलको दुई संस्करणको समाप्तिपछि अब आगामी वर्ष तेस्रो संस्करण राजधानी काठमाडौँ बाहिर पनि विस्तार गर्न क्यान व्यवस्थापनको सक्रियता अपेक्षित मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ