arrow

चितवनका दुई हात्तीका छावा कतारलाई उपहार पठाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
chitwan-national-park1.jpg

चितवन। चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका रुद्रकली (सात वर्ष) र खगेन्द्र प्रसाद (छ वर्ष) नामक दुई हात्तीका छावालाई आगामी पुस २ गते (डिसेम्बर १७ तारिख) कतार पठाइने भएको छ। यी छावाहरूलाई कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राखिनेछ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. हरिभद्र आचार्यले जानकारी दिएअनुसार, यो पहिलो पटक नेपालले हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागेको हो। यो उपहार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले गरेको प्रतिबद्धताअनुसार कतार सरकारको कूटनीतिक मागपश्चात् पठाइन लागिएको हो।

रुद्रकली र खगेन्द्र प्रसाद प्रजनन केन्द्रमा हुर्केर तालिमपछि सौराहा हात्तीसारमा राखिएका थिए। रुद्रकलीको आमा पूजाकली र खगेन्द्रको आमा कोशीकली हुन् भने दुवैको बाबु जङ्गली भाले हात्ती रोनाल्डो हुन्।

हात्तीहरूलाई भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बाट चार्टर कार्गो विमानमार्फत कतार लगिनेछ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीका लागि खोर निर्माण गरी सो खोरसहित ट्रकमा राखेर सौराहाबाट लुम्बिनी विमानस्थलसम्म पुर्‍याइने तयारी गरेको छ। निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना माउते पनि हात्तीसँगै कतार जाँदैछन्, जसले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनेछन्।

डा. आचार्यका अनुसार दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधतालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिने परम्परा रहेको छ। विसं २०४४ मा २० हात्तीबाट स्थापना भएको खोरसोर केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ। नेपालले यसअघि सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ