गभर्नर पौडेललाई बर्खास्तको माग गर्दै अर्थमन्त्रीसँग भेट
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
814
Shares
काठमाडौँ । जेन-जी युनाईटेड नामक संस्थाले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई तत्काल बर्खास्त गर्न माग गर्दै आज सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी सो माग राखेको छ।
जेन-जी युनाईटेडका संयोजक जनक परियारले जानकारी दिएअनुसार, गभर्नरका लागि आवश्यक योग्यता र विज्ञता डा. पौडेलसँग नभएकोले बर्खास्त गर्न माग गरिएको हो। संयोजक परियारले गभर्नर नियुक्तिको लागि डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, र विषयविज्ञता नै गभर्नर हुनका लागि अयोग्य रहेको दाबी गरे।
राष्ट्र बैंकको ऐनअनुसार गभर्नर हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा वाणिज्य कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था छ। तर, डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नातकोत्तर, र एग्रिकल्चर रिसोर्स ईकोनोमिक्समा विद्यावारिधी गरेका छन्।
यसबाहेक, राष्ट्र बैंक ऐनले राजनीतिक दलको सदस्य गभर्नर हुन नपाउने व्यवस्था गरे पनि उहाँ राजनीतिक दलको सदस्य भएको आरोप छ।
जेन-जी युनाईटेडले डा. पौडेल राजनीतिक भागबण्डाको आधारमा नियुक्त भएको दाबी गर्दै उनी सानिमा बैंकको संस्थापक शेयरधनी भएको, तत्कालीन गभर्नर नियुक्ति समितिको सदस्य रहेर राजीनामा दिएपछि गभर्नर बनेको विषयमा अख्तियारमा उजुरी परेको र सर्वोच्च अदालतमा मुद्दा परेको लगायतका कारणहरूले गर्दा उनलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ।
जेन-जी युनाईटेडले अर्थमन्त्रीसँगको भेटमा अर्थतन्त्र सुधारका लागि लगानीकर्ताको सुरक्षाको प्रत्याभुति दिलाउन, विचौलियको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाहरूले अनाधिकृत रूपमा लिएको व्याज ऋणीहरूलाई फिर्ता गर्न, वैदेशिक ऋणको दुरुपयोग गर्न रोक लगाउन, र राजश्व अनुसन्धान तथा सम्पती शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन पनि माग गरेको छ।