सुशासनका लागि प्रहरीमात्र होइन नागरिकको पनि उत्तिकै भूमिका रहन्छ : प्रहरी प्रमुख कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
735
Shares
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेन-जी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् ।
आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा उनले सुशासन हुनका लागि कानूनको शासन आवश्यक रहेको भन्दै यसको लागि प्रहरीमात्र पर्याप्त नभई नागरिकको पनि उत्तिकै भूमिका रहने धारणा राखे ।
उनले भने, ‘जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार चाँही मुलुकभरी सुशासनको माग हो । सुशासन हुनका लागि कानूनको शासन चाहिन्छ । सुशासनको अभिन्न अंग चाँही कानूनको शासन नै हो । यसका लागि फेरी प्रहरीमात्र पर्याप्त हुँदैन । त्यसका लागि नागरिकको पनि उत्तिकै भूमिका हुन्छ ।’
उनले नागरिकले आफ्नो गाँस कटाएर र आफ्नो महत्वपूर्ण समयलाई खर्च गरेर प्रहरी वित्त पुनर्निमाण गरेकोमा प्रशंसा गर्दै यस्तो समाजमा परिवर्तन ल्याउने भावना भएका व्यक्तिको आवश्यकता रहेको बताए ।
उनले भने, ‘नागरिकले आफ्नो गाँस कटाएर, आफ्नो घरको कामको महत्वपूर्ण समयलाई छोडेर सुरक्षा पहिला भनेर सुरक्षा प्रदान गर्ने यो निकायलाई यहाँ आएर भवन बनाएर दिनुभएको छ । यो भवन हस्तान्तरण त औपचारिकमात्र हो । त्यसभित्रको भावना जुन छ यस्तो भावना भएका र समाजमा परिवर्तन ल्याउने भावना भएका यस्ता व्यक्तिको साँच्चिकै आवश्यक छ ।’
उनले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध रहिरहँदा यस्ता भवनहरू सँधै सुरक्षित रहने बताए ।