पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु मै हुँ - शेखर कोइराला [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
1.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।
आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।
आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग विशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याएको योगदानको सधै उच्च कदर हुने बताए।
देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे ।
"सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ" कोइरालाले भने- "पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।"
जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।