arrow

इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
e-sewa-13th-anniversary-dec-2025.jpg

काठमाडौँ। नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। यही मिति २०८२ मङ्‌सिर २४ गते बुधवारका दिन काठमाडौँ  स्थित मेरियट होटेलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष श्री परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयर धनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा - नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ।

त्यस्तै, २०८१/८२ को लेखा परीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पुँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) पारित गर्नुका साथै चुक्ता पुँजीको ३१.५८ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ रकम बराबरको बोनस सेयर जारी गर्ने निर्णयसमेत पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुवास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गर्नुका साथै आव २०८२/८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखा परीक्षकका रूपमा नियुक्त पनि गरेको छ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको बताउँदै आगामी दिनमा यसलाई थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यस्तै, उनले कम्पनीले नियामकीय अनुपालनप्रति शून्य सहनशीलता राख्ने बताउँदै कम्पनीका सम्पूर्ण प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कम्पनीका कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका थिए।

त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्‌काले लगानीकर्ताहरूको सहयोग, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको मिहिनेतका कारण कम्पनीलाई अहिलेको सुदृढ अवस्थामा ल्याउन सम्भव भएको बताउँदै उनीहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए। त्यस्तै, उनले कम्पनीको दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरण सुनिश्चित गर्नतिर लागेको जानकारी दिए।

साधारण सभामा कम्पनीका सेयर धनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए। त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिएका थिए। त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो। 

साधारण सभामा कम्पनीलाई प्रतिनिधित्व गर्ने शत प्रतिशत सेयर धनी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ