तनहुँ । मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ ।
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।
यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन ।
सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो ।
पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम शुरू गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।
हाल दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने दुई लेन सकिएपछि अर्को दुई लेनमा कालोपत्र हुनेछ ।
पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको छ ।
३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ ।
त्यसमध्ये २९ दशमलव ६१ किलोमिटर खण्डमा चारलेन र ७ दशमलव ७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।
उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ ।
पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव ०६ किलोमिटर कालोपत्र भएको छ ।
११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ ओटै पुल बनेका छन् ।
छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए।
विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ ।
यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो ।