नारायणगढ–बुटवल सडक विस्तार, पूर्वी खण्डमा ३३ वटा पुल निर्माण सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
728
Shares
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्ड (गैँडाकोटदेखि दाउन्नेसम्म) मा निर्माण गरिनुपर्ने कुल ३४ वटा पुलमध्ये ३३ वटाको निर्माण कार्य सकिएको छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पुलहरूको निर्माण सकिएको जानकारी नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले दिएका छन्।
सूचना अधिकारी खनालका अनुसार, २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा अब अरुणखोलाको एउटा पुल मात्र निर्माणको काम बाँकी छ, जुन अन्तिम चरणमा रहेको छ। निर्माण सकिएका पुलहरूमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ र केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुनेछ। दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। पूर्वी खण्डमा दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ, तर दाउन्ने क्षेत्रमा सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन।
नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर लाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। यस सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक २०८३ असारसम्म म्याद थप गरिएको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि बढेको यस योजनाको दुवै खण्ड गरेर कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ। यसमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन र दाउन्नको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ।