अमेरिकाले गर्यो 'सबैभन्दा ठूलो' तेल ट्याङ्कर कब्जा; भेनेजुएलाले लगायो 'समुद्री डकैती'को आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
1.9k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तटबाट अमेरिकाले हालसम्मकै 'सबैभन्दा ठूलो' तेल ट्याङ्कर कब्जा गरेको घोषणा गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने, "हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ठूलो ट्याङ्कर कब्जा गरेका छौं। वास्तवमा अहिलेसम्म कब्जा गरिएकामध्ये सबैभन्दा ठूलो।"
अमेरिकी सेनाले भेनेजुएलाको तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि भेनेजुएलाको सरकारले कडा प्रतिक्रिया दिँदै अमेरिकालाई चोरी र अन्तर्राष्ट्रिय समुद्री डकैती गरेको आरोप लगाएको छ। भेनेजुएलाले अमेरिकाले आफ्ना राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाउने प्रयास गरिरहेको बताउँदै आएको थियो।
यो घोषणा ट्रम्प प्रशासन र राष्ट्रपति मादुरोको शासनबीचको पछिल्लो तनावको सङ्केत हो। यो घटना विपक्षी नेता मारिया कोरिनो मचाडो नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको ओस्लो गएको बेला भएको छ। ट्रम्पले यसै हप्ताको सुरुमा मादुरोको दिनगन्ति सुरु भएको भनेका थिए र भेनेजुएलाविरुद्ध अमेरिकी सेना पठाउने सम्भावनालाई पनि अस्वीकार गरेका थिएनन्।
वाशिंगटनले पछिल्ला केही हप्तादेखि यस क्षेत्रको वरिपरि आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ, जसलाई उसले लागुपदार्थ (ड्रग्स) तस्करीसँग लड्ने एउटा अभियान बताएको छ।