एनपीएलको फाइनलका लागि लुम्बिनी र विराटनगर आमनेसामने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
856
Shares
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ, जहाँ लुम्बिनी लायन्स र विराटनगर किङ्स फाइनल प्रवेशका लागि भिड्दैछन्। खेल आज अपराह्न ४:०० बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। यता लुम्बिनी लायन्सले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर यहाँसम्मको यात्रा तय गरेको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएकाले आजको खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
आज विजयी हुने टोलीले उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको सुदूरपश्चिम रोयल्ससँग मङ्सिर २७ गते सामना गर्नेछ।
लुम्बिनी एनपीएलको क्वालिफायरमा
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि क्वालिफायरमा पुगेको हो ।
११२ रनको सामान्य चुनौती लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियन खेलाडी डार्चि शर्टले ३३, सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।
यसअघि खेलमा टस जितेर काठमाडौँले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर १११ मात्ररन बनायो । सन्तोष यादवले २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए भने भीम शार्कीले १४ रन बनाए ।
शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पेल्मानले २ विकेट लिए ।
काठमाडौँ लिग चरणमा तेस्रो स्थानमा रहेर तथा लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर खेलेको थियो ।
विजेता लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँ ७७ रनले पराजित हुँदै विराटनगर फाइनल पुग्न पाएको थिएन ।
विराटनगरले अर्को अवसर पाउनेछ । यता सुदूरपश्चिम भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । पहिलो संस्करणमा जनकपुर बोल्टससँग फाइनलमा पराजित भएको सुदूर यसपालि उपाधि नै जित्ने लयमा छ ।
मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि शानदार ७७ रनको जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
खेलमा १५६ रनको चुनौती पछ्याएको विराटनगरले कमजोर प्रदर्शन गर्दै १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन बनायो । दोस्रो ओभरमै ३ रन जोड्दा ३ विकेट गुमाएको विराटनगरका लागि फाफ डु प्लेसिसले २९ बलमा ३६ रन बनाए । हरमित सिंह, स्कट कुग्गेल्जेन र अविनाश बोहराले समान २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो । ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले ५२ बलमा ६३ रन जोडे ।
त्यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २० रन जोडे । मर्चेन्ट डे लाङ्गे र प्रतिश जीसीले समान २ विकेट लिए ।
लिग तालिकाको शीर्ष स्थानमा रहेर सुदूर तथा दोस्रो स्थानमा रहेर विराटनगरले पहिलो क्वालिफायर खेलिरहेको हो । लिग चरणमा भने विराटनगरले सुदूरलाई ६ विकेटको जित हासिल गरेको थियो ।
लिग चरणामा अंक तालिका
आठ टिम सहभागी एनपीएलमा सुदूरपश्चिम १२ अंकसहित शीर्ष स्थानमा रहेर लिग चरण सकाएको छ । विराटनगर रन रेटमा काठमाडौँ गोर्खाजलाई पछि पार्दै १० अंकसहित दोस्रो स्थानमा छ ।
अब पहिलो क्वालिफायरमा सुदूर र विराटनगर खेल्नेछन् भने इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी लायन्स खेल्नेछन् । लुम्बिनी ८ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।
योसँगै बाँकी चार टिम प्लेअफ होडबाट बाहिरिएका छन् । पोखरा एभेन्जर्स ७ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा रह्यो । कर्णाली याक्स ७ खेलमा ४ अंकसहित छैटौँ स्थानमा रहन पुग्यो ।
चितवन राइनोज ७ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रह्यो ।
साविक विजेता जनकपुर ७ खेलबाट २ अंकसहित पुछारमा रह्यो ।
यसअघिका खेलको नतिजाः
२७ औँ खेलमा कर्णाली विजयी
कर्णाली याक्सले सान्त्वना जित हासिल गरेको छ । कर्णालीले लिगको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्टसलाई ३ रनले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो ।
लिग चरणको अन्तिम खेलमा सान्त्वना जितका लागि कर्णाली याक्सले जनकपुर बोल्टसलाई १३० रनको चुनौती दिएकामा जनकपुरले ७ विकेटको क्षतिमा १२६ रन बनाउन सक्यो ।
सन्जय कृष्णमूर्तीले ३९ बलमा ५१ रन बनाए बाहेक अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन् । विलियम बोसिस्टोले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा १२९ रन बनायो ।
इम्रान शेखले ३२ बलमा ३३, गुल्सन झाले २० बलमा १९ तथा कप्तान सोमपाल कामीले ११ बलमा अविजित रहँदै १८ रन बनाए ।
आदित्य महता र ललित राजवंशीले समान २ विकेट लिए ।
२६ औँ खेलमा सुदूरले हार्यो
सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिग चरणको अन्तिम खेलमा सुदूर विराटनगर किंग्ससँग पराजित भएको हो । यो हारले सुदूरको शीर्ष स्थान कायमै छ भने विराटनगर शीर्ष दुईमा रहँदै सुदूरसँगै पहिलो क्वालिफायर खेल्ने भएको छ ।
१४८ रनको विजयी चुनौती विराटनगरले ११ ओभर ५ बलमै ४ विकेटको क्षतिमा पूरा गर्दै ६ विकेटको जित हासिल गरेको हो ।
साम हेजलेट र फाप डु प्लेसिसबीच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भएको थियो । सो क्रममा सामले २७ बलमा ५१ तथा फाफले २० बलमा ५० रन बनाए ।
मार्टिन गप्टिलले ९ बलमा २२ तथा प्रतिश जीसीले ३ बलमा अविजित रहँदै १३ रन बनाए । अभिनाश बोहराले २ विकेट लिए ।
यसअघि टस हारेर सुदूरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १४७ रन बनायो । आरिफ शेखले ३२ बलमा अविजित रहँदै ४५ रन बनाए । ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ११ बलमा १९ रन बनाए ।
सन्दीप लामिछानेले ३ तथा प्रतिस जीसीले २ विकेट लिए ।
२५ औँ खेलमा लुम्बिनीले हरायो जनकपुरलाई
लुम्बिनी लायन्सले जनकपुर बोल्टसलाई ४ विकेटले हराएको छ । यो जितसँगै लुम्बिनी प्लेअफमा पुगेको छ । १३३ रनको चुनौती लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान रोहित पौडेलले ३२ बलमा ३४ तथा डार्सि सर्टले २४ बलमा ३० रन बनाए ।
खेलमा जनकपुरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३२ रन बनायो । संगीथ कोर्रेले ३८ बलमा अविजित रहँदै ४५ रन बनाए । त्यस्तै मायान यादवले २३ बलमा अविजित रहँदै २७ रन जोडे ।
लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान २ विकेट लिए ।
यो खेलसमेत गरेर जनकपुरले तेस्रो खेलाडीलाई कप्तान बनाएको छ । यो खेलमा जान निकोल लफ्टीलाई कप्तान बनाएको हो । यसअघि अनिलकुमार साह र वाइने पार्नेललाई कप्तान बनाइएको थियो । एकै संस्करणमा तीन जना कप्तान बनाइएको यो पहिलो पटक हो ।
२४ औँ खेलमा सुदूरले हरायो चितवनलाई
सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्यो । लिगको २४ औँ खेल जितका लागि चितवनले १७० रनको चुनौती पछ्याएकामा सुदूरपश्चिमले १७ ओभर १ बलमा अलआउट गर्दै १२० रनमै रोकेको हो । रवि बोपाराले २९ तथा देव खनालले २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा पुनीत मेहराले ३ विकेट लिए ।
खेलमा टस हारेर सुदूरले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १६९ रन बनायो । क्रिस लिनले ५६ बलमा ७५ रन जोडे । आरिफ शेखले १६ बलमा अविजित रहँदै २४ तथा दिपेन्द्र सिंह ऐरीले १४ बलमा अविजित रहँदै २४ रन बनाए । सैफ जैबले २ विकेट लिए ।
२३ औँ खेलमा पोखरा एभेन्जर्समाथि काठमाडौँको रोमाञ्चक १३ रनको जित
लिगको २३ औँ खेलमा पोखरा एभेन्जर्समाथि रोमाञ्चक १३ रनको जित हासिल गरेसँगै काठमाडौँले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्ने सम्भावना बढेको हो ।
खेलमा १६६ रनको चुनौती पछ्याउने क्रममा अलआउट हुदै १५२ रनमात्र बनाउन सक्यो । ऋषि धवनले ३१ बलमा ५४ तथा धनन्जय लक्षणले २७ बलमा ३० रन जोडे । शहाब आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनी एनपीएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो खेलाडी हुन् । उनले एकै ओभरमा ४ विकेट लिने कीर्तिमानसमेत बनाएका छन् । मिलिन्द कुमारले एकै खेलमा पाँच क्याच गरेका छन् ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेट गुमाएर १६५ रन बनायो । ओपनर बेन चार्लसवर्थले ५५ बलमा ६४ रन बनाए । त्यस्तै भीम शार्कीले २३ बलमा ५५ रन बनाए ।
धनन्जय लक्षणले १६ रन खर्चेर ४ तथा कुशल भुर्तेलले २५ रन खर्चेर २ विकेट लिए ।
२२ औँ खेलमा विराटनगर लुम्बिनीसँग पराजित
२२ औँ खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनी चौथो स्थानमा पुगेको छ ।
जितका लागि १४५ रनको चुनौती पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
लुम्बिनीका लागि डार्ची शर्टले ४४ बलमा ५७ रन बनाए । त्यस्तै निरोशन डिकेवालाले २२ बलमा अविजित रहँदै २९ रन बनाए ।
यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेसँगै ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो । लोकेश बमले ४२ बलमा ३५ रन बनाएको इनिङ्समा बसिर अहमदले २८ तथा साम हेज्लेटले २७ रन जोडे । पहिलो खेल खेलेका दक्षिण अफ्रिकी खेलाडी फाप डु प्लेसिसले ९ बलमा १२ रनमात्र जोडे ।
लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिए ।
२१ औँ खेलमा कर्णाली याक्समाथि पोखरा हावी
२१ औँ खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । पोखराले कर्णाली याक्सलाई ३४ रनले हरायो । खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गरेसँगै ब्याटिङको निम्तो पाएको गण्डकीले २ विकेटको क्षतिमा २०१ रन बनायो । एडम रोसिङटनले ५८ बलमा अविजित रहँदै १०८ रन बनाए ।
दोस्रो विकेटका लागि रोसिङटनसँग मिलेर १२७ रनको साझेदारी गर्ने क्रममा जासन रोयले ३४ बलमा ४६ रन बनाए ।
जवाफमा कर्णालीले १९ ओभरमा १६७ रन बनाएर अलआउट भयो । मार्क वाटले ३४ बलमा ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
पोखराका धनन्जय लक्शन र ऋषि धवनले समान ३ विकेट लिए ।
जितले पोखराले प्लेअफ सम्भावना जीवित राख्दा कर्णाली भने एक खेल खेल्न बाँकी छँदै होडबाट बाहिरिएको छ । कर्णाली औपचारिक रुपले नै बाहिरिने पहिलो टिमसमेत बनेको छ ।
बीसौँ खेलमा जनकपुरले हरायो चितवनलाई
लिगको बीसौँ खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई पराजित गर्यो । चितवन ६ विकेटले सहजै पराजित भयो । १७७ रनको चुनौती जनकपुरले १७ ओभर ३ बलमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
जनकपुरका लागि माज सदाकतले ३० बलमा ६३ तथा निवर्तमान कप्तान अनिल साहले ३६ बलमा ६१ रन बनाए । यसअघि खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन बनायो । डेभिड मलानले ५४ बलमा ८० तथा पहिलो विकेटका लागि ११२ रनको साझेदारी गर्ने क्रममा अर्जुन साउदले ३९ बलमा ५२ रन जोडे ।
कप्तान कुशल मल्लले १४ बलमा ३० रन जोडे । यो खेलपछि जनकपुरले अंकको खाता खोलेको छ । प्लेअफ होडको झिनो आशा बाँकी राखेको छ ।
हारले चितवन दबाबमा परेको छ ।
१९ औँ खेलमा काठमाडौँ गोर्खाजले हरायो कर्णालीलाई
कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ गोर्खाजले प्लेअफमा स्थान लगभग पक्का गरेको छ । खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै गुल्सन झाको आक्रामक ब्याटिङको मद्धतले कर्णालीले ७ विकेटको क्षतिमा १४९ रनको सम्मानजनक योगफल तयार गरेको हो । गुल्सनले २२ बलमा अविजित रहँदै ४९ रन बनाए ।
त्यस्तै पवन सर्राफले २९ बलमा ३५ तथा मार्क वाटले २७ बलमा ३० रन बनाए । रशिद खानले २ विकेट लिए ।
जवाफमा काठमाडौँले १८ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । गेर्हार्ड इरास्मसले ३३ बलमा अविजित रहँदै ४३ तथा जोन सिम्पसनले २१ बलमा ४१ रन बनाए । नन्दन यादवले ३ विकेट लिए ।
१८ औँ खेलमा सुदूरपश्चिमले हरायो जनकपुरलाई
सुदूरपश्चिम रोयल्सले अपराजित रहँदै दुई खेलअघि नै प्लेअफमा पुग्ने क्रममा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हरायो ।
१४६ रनको चुनौती सुदूरले १७ ओभर ४ बलमै ४ विकेट गुमाएर पूरा गरेको हो । इशान पाण्डेले ३५ बलमा ५६, विनोद भण्डारीले ४९ बलमा ४२ तथा हर्मित सिंहले १० बलमा अविजित रहँदै २५ रन बनाए ।
यसअघि खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १४५ रन बनायो । सन्जय कृष्णमूर्तीले ३८ बलमा ५० तथा जान निकोल लोफ्टि इटनले ३३ बलमा ३९ रन बनाए ।
अभिनाश बोहराले ४ तथा स्कट कुग्ग्लेजिनले ३ विकेट लिए ।
जनकपुरले नियमित कप्तान अनिल साहलाई कप्तानबाट हटाएर दक्षिण अफ्रिकी खेलाडी वाइने पार्नेललाई कप्तान बनाएको छ । पार्नेल पहिलो विदेशी कप्तान बने पनि टिमलाई जिताउन भने सकेनन् ।
१७ औँ खेलमा लुम्बिनीले हरायो पोखरालाई
लुम्बिनी लायन्सले रोमाञ्चक जित हासिल गरेको छ । लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
१५१ रनको चुनौती लुम्बनीले दुई बल खेल्न बाँकी छँदै ७ विकेटको क्षतिमा पूरा गरेको हो । कप्तान रोहित पौडेलले ३६ बलमा ४०, निकोशन डिकेवालाले २२ बलमा ३७ तथा सन्दीप जोराले २२ बलमा अविजित रहँदै २५ रन बनाए ।
पोखराका लागि सागर ढकाल माट टेलर र बिपिन खत्रीले समान २ विकेट लिए ।
जितसँगै लुम्बनीले प्लेअफको आशा जीवितै राखेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको पोखराले ५ विकेटको क्षतिमा १५० रन बनायो । एडम रोसिङटनले ६३ बलमा ८१ तथा जेम्स नीसमले ३२ बलमा अविजित रहँदै ५१ रन बनाए ।
शेर मल्ल र तिलक भण्डारीले समान २ विकेट लिए ।
१६ औँ खेलमा विराटनगरले कर्णालीलाई हरायो ३ विकेटले
खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १६० रन बनायो । जवाफमा विराटनगरले अन्तिम बल खेल्न बाँकी छँदा ७ विकेटको क्षतिमा जित हासिल गर्यो ।
१५ औँ खेलमा काठमाडौँले हरायो चितवनलाई
काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हरायो । पहिले ब्याटिङ गरेको काठमाडौँले १४२ रनमात्र बनाउन सक्यो । जवाफमा चितवनले मात्र ८९ रन बनायो ।
१४ औँ खेलमा पोखरा एभेन्जर्सले हरायो जनकपुरलाई
पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १५५ रन बनायो । सुमीत वर्माले २९ बलमा अविजित रहँदै ५० रन बनाए । दिनेश खरेलले ३८ रन जोडे । जनकपुरका संजय कृष्णमूर्तीले ३ विकेट लिए ।
जवाफमा जनकपुरले ८ विकेटको क्षतिमा १३० रनमात्र बनाउन सक्यो । वाइने पार्नेलले रिटायर्ड हर्ट हुनुअघि ३८ बलमा ५० रन बनाए । पोखराका विपिन खत्रीले १५ रन खर्चेर ४ विकेट लिए ।
१३ औँ खेलमा सुदूरपश्चिमले हरायो लुम्बिनीलाई
१३ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा अलआउट हुँदै १४३ रन बनायो । कप्तान रोहित पौडेलले ३५ रन बनाए । हरमित सिंह र अभिनाश बोहराले समान ३ विकेट लिए ।
जवाफमा सुदूरले १८ ओभर २ बलमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच विनोद भण्डारीले ४९ बलमा अविजित रहँदै ६९ रन बनाए ।
१२ औँ खेलमा चितवनले हरायो विराटनगरलाई
लिगको १२ औँ खेलमा विराटनगर किंग्सको अपराजित यात्रा रोकिएको छ । विराटनगरलाई चितवन राइनोजले ४८ रनले पराजित गरेको हो ।
जितका लागि १७५ रनको चुनौती पछ्याएको विराटनगरले १६ ओभर ५ बलमा अलआउट हुँदै १२६ रनमात्र बनाउन सक्यो । तीन खेलाडीले मात्र दोहोरो स्कोर गरेको खेलमा मर्चेन्ट डे लाङ्गेले २२ बलमा ३९, प्रतिश जीसीले १२ बलमा ३० रन तथा साम हेज्लेटले ११ बलमा २२ रन बनाए ।
चितवनका लागि पर्साका रन्जित कुमारले २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कमल ऐरीले २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन बनायो । रवि बोपाराले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा ३८ बलमा ६५ रन जोडे । सेफ जैबले ३० बलमा ३२ तथा देव खनालले २२ बलमा २८ रन जोडे ।
विराटनगरका लागि सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
११ औँ खेलमा काठमाडौँ गोर्खाज विजयी, लुम्बिनी लायन्सलाई पराजित
काठमाडौँ २२ रनले विजयी भयो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेटको क्षतिमा १५७ रन बनायो । मध्यक्रम छिट्टै ध्वस्त भए पनि कप्तान करण केसीले सनसनीपूर्ण ब्याटिङ गरेपछि काठमाडौँ सम्मानजनक स्थितिमा पुगेको थियो । करणले ११ बलमा अविजित रहँदै ३४ रन बनाए । आकाश त्रिपाठीले ३६ बलमा ३२ रन बनाए । सन्तोष यादवले १६ बलमा २६ रन जोडे ।
लुम्बिनीका लागि रोहित पौडेल गुल्बदिन नैब, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २-२ विकेट लिए ।
जवाफमा लुम्बिनीले १९ ओभर १ बलमा अलआउट हुँदै १३५ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि अलराउन्डर शेर मल्लले १८ बलमा २७ रन बनाए । दिलिप नाथले ३३ बलमा २५ रन जोडे ।
काठमाडौँका लागि मिलिन्द कुमार र गेर्हाल्ड इरास्मसले समान २ विकेट लिए ।
दशौँ खेलमा सुदूरपश्चिमले हरायो कर्णालीलाई
दशौँ खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ दनले हराएको छ । जितका लागि १४० रनको चुनौती पछ्याएको कर्णालीले १९ ओभर २ बलमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले २६ बलमा २७ तथा मार्क वाटले १० बलमा १७ रन बनाए ।
सुदूरपश्चिमका लागि दिपेन्द्रले २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हर्मित सिंह र अवनाश बोहराले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो । कप्तान दिपेन्द्र सिंह ऐरीले २८ बलमा सर्वाधिक ३९ रन बनाए । त्यस्तै आरिफ शेखले २५ बलमा २७ रन बनाए ।
कर्णालीका कप्तान सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिएका छन् ।
नवौँ खेलमा विराटनगरले हरायो जनकपुरलाई
नवौँ खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले २९ बलमा ३७, बसिर अहमदले ३५ बलमा ३६ तथा लोकेश बमले २६ बलमा २८ रन जोडे । रुपेश सिंह र संगीथ कोर्रेले समान २-२ विकेट लिए ।
जवाफमा जनकपुरले ९ विकेटको क्षतिमा१२६ रनमात्र बनाउन सक्यो । जान निकोल लोफ्टि इटनले ३० बलमा ४१ रन बनाएर रनआउट भए । लहिरु मिलान्थाले २२ बलमा २३ रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सूर्य तामाङले २ विकेट लिए । कम योगफल पनि जनकपुरले भेट्टाउन नसकेसँगै जनकपुरलाई दोस्रो संस्करण 'ब्याडलक' नै भएको छ ।
आठौँ खेलमा विराटनगर किंग्सले हरायो काठमाडौँ गोर्खाजलाई
आठौँ खेलमा विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गर्यो । जितका लागि १३५ रनको चुनौती पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । जर्ज मुन्सीले १६ बलमा ३६ रन बनाए । त्यस्तै मार्टिन गप्टिलले १९ बलमा २५ रन जोडे । शहाब आलमले २ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो । मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए ।
विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए ।
सातौँ खेलमा कर्णाली सामु लुम्बनी निरीह, वाटको शतकले नौ विकेटको जित
सातौँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई निरीह बनाउँदै ९ विकेटको जित हासिल गरेको छ । कर्णालीले १५७ रनको चुनौती १२ ओभर २ बलमै १ विकेटको क्षतिमा पूरा गरेको हो । मार्क वाटले ४४ बलमा अविजित रहँदै ११४ रन बनाए । उनले १२ छक्का र ६ चौका हानेका थिए ।
एनपीएलमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यो सिजनमा भने उनी शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १५६ रन बनायो । कप्तान रोहित पौडेलले ४३ बलमा ४९ रन जोडे ।
त्यस्तै रुबेन ट्रम्पेलमेनले १४ बलमा अविजित रहँदै २९ तथा जेजे स्मिथले १४ बलमा २३ रन जोडे । नन्दन यादवले २ विकेट लिए ।
यो खेलसँगै कर्णाली खेलमा फर्किएको छ भने लुम्बिनीले लय गुमाएको छ । पहिलो खेलमा कर्णाली पराजित भएको थियो भने लुम्बिनी विजयी भएको थियो
छैटौँ खेलमा सुदूरपश्चिमले हरायो पोखरालाई १८ रनले पराजित
छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्ने क्रममा पोखरा एभेन्जर्सलाई २१ रनले पराजित गर्यो । १९४ रनको चुनौती पछ्याएको पोखराले ८ विकेटको क्षतिमा १७५ रनमात्र बनाउन सक्यो । कप्तान कुशल भुर्तेलले ३२ बलमा ५३ तथा जेम्स नीशमले २५ बलमा ४७ रन जोडे । त्यस्तै डान डटवेटले १६ बलमा ३७ रन बनाए ।
हरमित सिंहले २ विकेट लिए । स्कट कुग्गेल्जिन, दिपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अभिनाश बोहरा र नरेन साउदले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन बनायो । पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्ने क्रममा जोश ब्राउनले ३५ बलमा ६८ तथा विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए । त्यस्तै क्रिस लिनले १३ बलमा ३१ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले १० बलमा १५ रन जोडे ।
जेम्स नीशमले ३ तथा आाकाश चन्द र डान डटवेटले २-२ विकेट लिए ।
पाँचौँ खेलमा लुम्बिनीको शानदार शुरूआत, चितवन ६ विकेटले पराजित
लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो ।
लुम्बिनीले १४३ रनको चुनौती १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । गुल्बादिन नैबले २४ बलमा अविजित रहँदै ४४ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ४४ बलमा ३९ तथा सन्दीप जोराले १८ बलमा २८ रन बनाए ।
रिजन ढकालले २ विकेट लिए । चितवनले थुप्रै क्याच गर्ने अवसर गुमाएको थियो । यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षातिमा १४२ रन बनायो । रवि बोपाराले ५५ बलमा ६६ रन जोडे । रुबेन ट्रम्पलेम्यानले ३ विकेट लिए अभिषेक गौतम र गुल्बादिन नैबले समान २ विकेट लिए ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले दोस्रो खेल खेलेको हो ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।
गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।
चौथो खेलमा सुदूरपश्चिमले हरायो काठमाडौँलाई
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक शुरूआत गरेको छ । सुदूरले लिगको चौथो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको हो ।
काठमाडौँले १४८ रनको चुनौती पछ्याउने क्रममा १६ ओभर ५ बलमा अलआउट हुँदै ११८ रन बनायो । ओपनर आकाश त्रिपाठीले सर्वाधिक २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा स्कट कुग्ग्लेजिन, हेमन्त धामी र हर्मित सिंहले २ विकेट लिए ।
खेलमा सदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन बनायो । हरमित सिंहले २० बलमा ५३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ३९ रन बनाए ।
काठमाडौँका कप्तान करण केसीले ४ तथा मिलिन्द कुमार, सन्नि पटेल र रशिद खानले समान २ विकेट लिए ।
काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हो भने सुदूरले पहिलो खेल खेलेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो ।
काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो ।
तेस्रो खेलमा विराटनगरले पोखरालाई हरायो ५३ रनले
एनपीएलको तेस्रो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अहिलेसम्मकै सर्वाधिक रन जोड्ने क्रममा ६ विकेटको क्षतिमा २२० रन बनायो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा लोकेश बमले ४८ बलमा ७२ तथा मार्टिन गप्टिलले ३५ बलमा ६१ रन जोडे ।
त्यस्तै शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिरअहमदले १३ बलमा २३ रन बनाए । माट टेलरले २ विकेट लिए ।
जवाफमा पोखराले १८ ओभर ५ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो । कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ तथा एडम रोसिङटनले २१ बलमा ३९ रन बनाए ।
विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
दोस्रो खेलमा चितवनले कर्णालीलाई हरायो
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । दोस्रो संस्करणको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा भएको खेलमा चितवनले १६७ रनको चुनौती ६ विकेटको क्षतिमा १९ ओभर १ बलमा पूरा गरेको हो । रवि बोपाराले ३६ बलमा सर्वाधिक ५२ रन बनाए ।
त्यस्तै दीपक बोहराले ३६ बलमा ४२ तथा सैफ जैबले १६ बलमा ३८ रन बनाए । कप्तान कुशल मल्लले १५ बलमा २० रन जोडे । कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनायो । ओपनिङ ब्याट्सम्यान भारतीय प्रियांक पन्चालले ४८ बलमा ९० रन बनाए । पवन सर्राफले १६ बलमा अविजित रहँदै २७ रन जोडे ।
चितवनका सोइल तन्भिर, सैफ जेब र रवि बोपाराले एक एक विकेट लिए ।
चितवनको नेतृत्व कुशल मल्लले तथा कर्णालीको नेतृत्व सोमपाल कामीले गरेका हुन् ।
पहिलो खेलमा काठमाडौँले हरायो जनकपुरलाई
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो । जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् ।
तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए ।
काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । जवाफमा काठमाडौँले १८ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे ।