सार्कलाई गतिशील बनाउन नयाँ सङ्कल्प आवश्यक: प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
674
Shares
काठमाडौँ। प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गरी अझ गतिशील, समावेशी र कार्यमुखी बनाउनका लागि नयाँ सङ्कल्प आवश्यक रहेकोमा जोड दिएकी छन्।
सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर मात्र यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकाङ्क्षा पूर्ण गर्न सकिने बताएकी छन्।
प्रधानमन्त्री कार्कीले झन्डै चार दशकअघि संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गरेको स्मरण गरिन्। संस्थापकहरूको सामूहिक दूरदृष्टिले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने र जनताको कल्याण वृद्धि गर्ने उद्देश्यसहित सार्कको जन्म दिएको उनको भनाइ छ।
विगत वर्षहरूमा सार्कले आपसी समझदारी र पारस्परिक विश्वास मजबुत पार्दै जीवनस्तर सुधार गर्ने पहलहरू अघि बढाउन महत्त्वपूर्ण मञ्चको रूप लिएको उनले बताइन्। साथै, खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरतालाई गहिरो बनाउने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनले उल्लेख गरिन्।
हालका अध्यक्षको रूपमा नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको प्रधानमन्त्री कार्कीले बताएकी छन्। उनले संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पुर्याउन सकिने विश्वास व्यक्त गरिन्।
सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो। यसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन्, जसको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको थियो। सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो, जुन सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित हुन्छन्।
सङ्गठनका सबै तहका निर्णयहरू सर्वसम्मतिका आधारमा गरिने र द्विपक्षीय तथा विवादास्पद विषयहरूलाई छलफलबाट बाहिर राखिने सार्क चार्टरका उद्देश्य रहेका छन्। सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन्, तर १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बरमा काठमाडौँमा भएयता शिखर सम्मेलन हुन सकेको छैन।